साउन १, काठमाडौं । इटाली युइएफए महिला युरो २०२५ को सेमिफाइनल पुगेको छ। कप्तान क्रिस्टियाना जिरेलीले अन्तिम मिनेटमा गोल गरेपछि नर्वेलाई २-१ पराजित गर्दै इटाली अन्तिम चारमा पुगेको हो।

पहिलो हाफमा पूर्ण रूपमा दबाबमा राख्ने प्रदर्शनपछि जिरेलीले ५०औं मिनेटमा खेलको खाता खोलेकी थिइन्। सोफिया कान्टोरेको क्रसमा जिरेली नजिकैबाट बायाँ खुट्टाले गोल गरिन्। ६०औं मिनेटमा कप्तान आडा हेगेरबर्गलाई एलेना लिनारीले तानेपछि नर्वेले पेनाल्टी पायो। तर जारी प्रतियोगितामा उनले दोस्रो पटक पेनाल्टी बाहिर हानिन् । ६६ औं मिनेटपछि हेगेरबर्गले गल्ती सुधारिन्। दौडँदै आइरहेकी गोलकिपर लाउरा जुलियानीलाई छलाउँदै उनले सहज रुपमा बराबरी गोल गरिन् । तर जब खेल अतिरिक्त समयतर्फ जान लाग्दै थियो, सोफिया कान्टोरेको क्रसमा जिरेलीले हेडमा निर्णायक गोल गरिन् । ‘यो सपना पूरा भएको जस्तै हो,’ खेलपछि जिरेलीले भनिन्, ‘यो अद्भुत छ। मैले केही फरक, विशेष महसुस गरेँ। खेलाडीको आँखामा मैले विशेष चमक देखेँ।’ उनले थपिन् ,’ रेफ्रीले अन्तिम सिठ्ठी नबजाउँदासम्म लड्न र विश्वास गर्नुपर्छ । यदि तपाईंभित्र आगो छ भने त्यसलाई बाचाइराख्नुपर्छ। हामी धेरै दुख गर्यौँ र अन्तिमसम्म लड्यौँ।’
खेलको पहिलो हाफमा इटालीले खेलमा दबाब बनाएपनि गोल गर्न सकेन । अरियाना कारुसो, जिरेली, एम्मा सेभेरिनी र लुसिया डी गुलिएल्मो गोलको नजिक पुगेपनि सफल भएनन्। इटाली सन् १९९७ पछि पहिलो पटक सेमिफाइनल पुगेको हो। इटालीले अब स्वीडेन वा साविक विजेता इङ्ल्याण्डसँग भिड्नेछ । ती दुईबीचको क्वार्टरफाइनल आज हुनेछ।