चैत ३०, काठमाडौं । कोलकाता नाइड राडर्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा तेस्रो जित निकालेको छ।कोलकाताले कमजोर चेन्नई सुपर किंग्सलाई ८ विकेटको लज्जास्पद हार चखायो। १ सय ४ रनको सहज चुनौती कोलकाताले १०.२ ओभरमा २ विकेटको नोक्सानीमा पूरा गर्यो।

विना दबाब कोलकाताले जित आफ्नो पक्षमा पार्यो। उसको लागि सुनिल नराइनले १८ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै ४४ रन जोडे। क्विन्टन डि ककले २३ रन जोडे। कप्तान अजिन्के राहने अविजित २० र रिन्कु सिंह अविजित १५ रनना रहँदै कोलकातालाई ८ विकेटको जित दिलाउन सफल भए।
बलिङमा नुर अहमद र अन्सुल कामबोजले समान १ विकेट लिए।
त्यसअघि एम.ए. चिदम्बरम स्टेडियममा कोलकाताले टस जितेर फिल्डिङ रोज्यो। फिल्डिङ रोज्ने कप्तान अजिन्के राहनेको निर्णयलाई बलरले सही तुल्याइदिए। चेन्नई २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १ सय ३ रन बनायो।
डेभोन कोनवे १२ रनमा राचिन रबिन्द्र ४ रनमा आउट भए। १६ रन मात्र बनाउँदा दुई ओपनर चेन्नईले गुमाइसकेको थियो।
पहिलो पावर प्लेमा २ विकेटको क्षतिमा ३१ रन बनाउँदै चेन्नईले फितलो सुरुवात गर्यो। कोलकाताका बलर सामु निरिह बनेको चेन्नईका कुनै पनि खेलाडी क्रिजमा टिक्न सकेनन्। विजय शंकरले सबैभन्दा बढी २९ रन बनाए।
शिवम दुबे र राहुल त्रिपाठीले समान १६ रन जोडे। मात्र चार खेलाडीले दोहोरो अंकमा रन बनाए । रविचन्द्र आश्विन, कप्तान महेन्द्र सिंह धोनी र नुर अहमद १/१ रनमा तथा रबिन्द्र जडेजा र दीपक होडा रनको खाता नखोली आउट भए।
सुनिल नराइनले ४ ओभरमा मात्र १३ रन खर्चेर ३ विकेट लिंदै किफायती बलिङ गरे। हर्षित राना र वरूण चक्रवर्तीले समान २ विकेट लिए।
छैटौं खेलमा तेस्रो जितका साथ कोलकाता ६ अंक सहित तेस्रो स्थानमा उक्लिएको छ। चेन्नईको यो लगातार पाँचौं हार हो। ६ खेलबाट चेन्नईसँग मात्र २ अंक रहेको छ। चेन्नई आइपिएलमा नै लगातार ५ खेलमा पराजित भएको यो पहिलो पटक हो।