• २०८३ भाद्र ४ गते बिहिवार

काठमाडौँ विश्वविद्यालयका विद्यार्थीले बनाएका सामग्री प्रदर्शनीमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट
मंसिर २५, काठमाडौं ।    कपडाका टुक्रा, बाँसको सिङ्का र नेपाली कागजका टुक्रा बटुलेर साथीहरुको सामूहिक प्रयासमा बनेका हस्तकलाका सामग्री देखेर सुमनिता बज्राचार्य उत्साहित हुनुहुन्छ । उहाँ सुरुमा कठिन लागेको हस्तकलाको सिर्जना साथीहरुको मिलेमतोमा पूरा गर्न पाउँदा सहकार्यको अनुभूति महसुस भएको बताउनुहुन्छ ।
नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा यतिबेला स्नातक तहका विद्यार्थीले सामूहिक रुपमा बनाएका कलात्मक सामग्री प्रदर्शन गरिएको छ । युवापुस्ताले परम्परागत कच्चापदार्थ प्रयोग गरेर सांस्कृतिक आकृति झल्किने हस्तकला बनाएका छन् । काठमाडौँ विश्वविद्यालय स्कुल अफ आट्र्स र स्कुल अफ इञ्जिनियरिङले सो प्रदर्शनी आयोजना गरेको हो ।
विश्वविद्यालयको कला तथा डिजाइन विभागअन्तर्गत शिल्पकला तथा डिजाइन सङ्कायका विद्यार्थीद्वारा कार्यशालाामा सिर्जित कलाकृति ‘रिइम्याजिन ट्रेडिसन–२’ प्रदर्शनी राखिएको हो । यसमा थुप्रै विद्यार्थीको सामूहिक कार्य देख्न सकिन्छ । जसमध्ये, विद्यार्थी सुमनिता ब्रजाचार्य, श्यालभिया महर्जन, कृतिका खत्री र प्रज्ञा अर्याल प्रायः ग्यालरीमा कला अवलोकन गर्न आउने दर्शकलाई स्वागत गर्न बस्नुहुन्छ । उहाँले कला कसरी बनाएको ? भन्ने धेरै दर्शकको प्रश्नलाई उहाँहरु प्रक्रियागत विवरण सुनाउनुहुन्छ ।
साथै बनाउने क्रममा साथीहरुबीच हुने सहकार्य र मिलनपूर्ण व्यवहारको पनि अनुभूति सुनाउनुहुन्छ । “यसअघि समूहमा काम गर्दा कस्तो हुन्छ भन्ने अनुभव बटुल्न पाएको थिएन”, सुमनिताले भन्नुभयो, “कलेजको प्रोजेक्टअन्तर्गत सामूहिक रुपमा हस्तकला बनाउँदा जटिल कुरा पनि सरल तरिकाले सिक्न पाइनेरहेछ ।”
सुमनिताकी साथी श्यालभियाले समूहमा काम गर्दा कतिपय फरक स्वभावलाई स्वीकार गरेर सहकार्य गर्नुपर्ने बानी विकास हुने बताउनुभयो । उहाँले हस्तकला पछिल्लो समय लोप हुँदै गएकाले युवापुस्ता यसको जर्गेनामा लाग्नुपर्ने धारणा राख्नुभयो । त्यसैले पनि उहाँले परम्परागत रुपमा परिचित हस्तकलालाई सिकेर भविष्यमा यही क्षेत्रमा व्यवसायी बन्ने सोच बनाएको बताउनुभयो ।
प्रदर्शनीमा विद्यार्थीले बाँस, नेपाली कागज, धागो, कपडा, फलामका, पराल, कपास, सिसाका टुक्रा, तामाको भाँडालगायत सामग्री जडान गरेर नवीन शैलीका आकृति सिर्जना गर्नुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस