मंसिर २४, काठमाडौं । जिल्लामा हुने हरेक किसिमका विभेद अन्त्यका लागि सबै निकाय एक हुन आवश्यक रहेको सरोकारवालाले बताएका छन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको आज समापन समारोहका बक्ताहरूले प्रबिधिको प्रयोग गर्दै यस्ता विभेद तथा हिंसा रोक्न सबै निकाय तयार रहनुपर्ने बताएका हुन् ।

कार्यक्रममा चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालले समाजमा विभिन्न प्रकारका हिंसात्मक घटना हुँदै आएको बताउँदै ती घटना रोक्न सबै सरोकारवाला निकायले पहल गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विभेद अन्त्यका लागि सबै निकाय एकजुट भएर अघि बढ्नु आवश्यक छ । जसले समाजको सोच परिवर्तन गर्न सक्छ ।” उहाँले हिंसापीडितको न्याय र मानवअधिकारको संरक्षणमा अदालत सदैव प्रतिबद्ध रहने बताउँदै यसमा समाजका हरेक निकायहरू पनि उत्तिकै जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।
अहिले समाजका ८५ प्रतिशत महिला कुनै न कुनै किसिमले हिंसाको सिकार बन्ने गरेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा जिल्ला न्यायाधिवक्ता रवि न्यौपानेले हिंसामा परेकालाई न्याय दिलाउने कार्य निरन्तर गरिरहनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “समाजलाई सचेत बनाउन सके मात्र अभियान प्रभावकारी हुन्छ ।”
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्द पुरी, प्रहरी निरीक्षक मनिष श्रेष्ठ, महिला अधिकारकर्मी मञ्जु खाँड लगायतले हिंसा अन्त्य गर्ने जिम्मेवारी समाजसँगै सरोकारवाला सबै निकायको भएको बताउनुभयो ।
यौनजन्य हिंसाविरुद्धको साझा अभियानकी संयोजक मिना खरेलले जिल्लालाई हिंसामुक्त जिल्ला बनाउन निरन्तर अभियान जारी राख्न आवश्यक रहेको बताउनुभयो ।