भदौ २५, काठमाडौं। भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका छन् । सरकारी दमनपछि अराजक बनेको जेन-जी प्रदर्शन क्रममा प्रदर्शनकारीले आक्रमण गरेपछि मौका छोपी कैदीबन्दी भागेका हुन् ।

काठमाडौँ उपत्यका लगायत देशका विभिन्न जिल्ला कारागारमा प्रदर्शनकारीले आक्रमण गर्दा एकैदिन हजारौँ कैदीबन्दी भागेका छन् ।
जलेश्वरस्थित कारागारको पर्खाल भत्काएर ५७२ जना कैदी फरार
महोत्तरीको जलेश्वरस्थित कारागारको पर्खाल भत्काएर ५७२ जना कैदी फरार भएका छन् । साँझ ७ बजे ५ सयभन्दा बढी संख्यामा आएका प्रदर्शनकारी र भित्रका कैदीले एकै साथ पर्खाल भत्काएपछि स्थिति नियन्त्रण बाहिर गएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक हेरम्ब शर्माले बताए ।
‘आन्दोलनकारीको हातमा भाटा र कैदीको हातमा खाना बनाउन ल्याएको चिर्पट हुँदा प्रहरीले केही गर्न सक्ने अवस्था थिएन’, उनले भने । अहिले जलेश्वरको अवस्था तनावग्रस्त छ । सुरक्षा निकायको बैठक बसिरहेको छ भने जिल्ला प्रशासन कार्यालयले आज साँझ ६ बजेर ४० मिनेटदेखि भोलि बिहान ८ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ ।