चैत २८, काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) को २४ औं खेलमा आज रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसिबी) र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार साँझ पौने ८ बजे सुरु हुनेछ । दिल्लीले ३ खेलमा शतप्रतिशत नतिजा निकालेको छ। दिल्ली ६ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।

दिल्ली लगातार चौंथो जित निकाल्ने दाउमा रहनेछ । यो सिजन सानदार सुरुवात गरेको दिल्ली जितलाई निरन्तरता दिन चाहन्छ । तर यसको लागि उसले आज आरसिबीको कडा चुनौती पन्छाउनुपर्नेछ । आरसिबी अंक तालिकाको तेस्रो स्थानमा छ ।
आरसिबीले कोलकाता नाइट राइडर्स, चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स जस्ता फरक पिचमा जित हात पारेको छ । उसले एक मात्र हार भने घरेलु मैदानमा गुजरात टाइटन्स विरुद्ध बेहोरेको थियो। आरसिबीको ४ खेलबाट ६ अंक छ । आरसिबीका कप्तान रजत पाटिदार उत्कृष्ट लयमा छन्। विशेषगरी स्पिन बलिङ विरुद्ध उनी प्रभावशाली सावित हुन सक्छन् ।
पछिल्लो खेलमा मुम्बईविरुद्ध विराट कोहलीले सानदार प्रदर्शन गर्दै यस सिजनको दोस्रो अर्धशतक पूरा गरेका थिए। उनको प्रदर्शन पनि प्रमुख रहनेछ ।
यी दुईबीच ३१ पटक प्रतिस्पर्धा भएको छ। जहाँ आरसिबीले १९ र दिल्लीले११ खेल जितेको छ। एक खेलमा नतिजा आएको थिएन।