मंसिर १९, काठमाडौं । प्लेअफमा अब एक स्थान मात्रै बाँकी छ । तर, त्यही एक स्थानका निम्ति अझै चार टिम चर्को प्रतिस्पर्धामा छन् । यो रोचक प्लेअफ समीकरण नेपाल प्रिमियर लिग (एनपीएल)ले बिहीबार २३औँ र २४औँ खेलको नतिजा पाएपछि बन्यो । सुदूरपश्चिमले लिग चरणका दुई खेल बाँकी छँदै प्लेअफमा नाम लेखाइसकेको थियो ।

बिहीबारको दुई खेलपछि थप दुई टिमले प्लेअफ यात्रा तय गरे । जसमा छन्, काठमाण्डू गोर्खाज र विराटनगर किंग्स । प्रतियोगिताको दोस्रो संस्करण चलिरहँदा एनपीएलमा पहिलोपटक यी दुई टिमले प्लेअफ यात्रा तय गरेका हुन् । अघिल्लो सिजन दुवै टिम लिग चरणबाटै बाहिरिएका थिए ।
कीर्तिपुरमा भएको पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध १३ रनको जित निकालेपछि काठमाण्डू दोस्रो संस्करणको प्लेअफ पुग्ने दोस्रो टिम बनेको हो । खेलमा टस हारेर पहिले ब्याटिङमा आएको काठमाण्डूले १६५ रन बनाएको थियो । दोस्रो इनिङ १६६ रनको लक्ष्यसहित मैदान उत्रिएको पोखरा १५२ रनमै समेटियो । काठमाण्डूविरुद्धको जितले पोखराको प्लेअफ यात्रा धेरै हदसम्म सहज बन्थ्यो । तर, हारले प्लेअफ सम्भावना समाप्त नभए पनि पोखराको आगामी यात्रा निक्कै कठिन बनेको छ ।
‘अजेय’ सुदूरपश्चिम, भाग्यमानी विराटनगर
दोस्रो खेलले सुदूरपश्चिमका निम्ति खास फरक पार्ने थिएन । प्लेअफ पुग्ने पहिलो टिम बनिसकेको सुदूरपश्चिमको नतिजाले भने विराटनगरको यात्रामा निक्कै ठूलो प्रभाव पर्ने सम्भावना थियो । भयो पनि त्यस्तै ।
सुदूरपश्चिमले चितवन राइनोजलाई ४९ रनले हराउँदा यो नतिजाबाट विराटनगरले प्लेअफ यात्रा तय गर्यो । सुदूरपश्चिमले चितवनसँग हार व्यहोर्दा विराटनगरलाई अन्तिम खेलमा जित्नै पर्ने दबाब रहन्थ्यो । लिग चरणको अन्तिम खेलमा विराटनगरले सुदूरपश्चिमविरुद्ध नै खेल्ने तालिका छ ।
टस हारेपछि ब्याटिङमा ओर्लिएको सुदूरपश्चिमले पहिलो इनिङमा १६९ रन बनाएको थियो । तर, दोस्रो इनिङमा चितवन १७.१ ओभरमा १२० रनमै समेटिएपछि विराटनगर भाग्यमानी बनेको हो ।
चितवनसँगको जितबाट सुदूरपश्चिमको शीर्ष स्थान सुनिश्चित, विराटनगर पनि प्लेअफमा
प्रतियोगिताको लिग चरणमा ६ खेल खेलेको सुदूरपश्चिमले पनि यो जितसँगै लिग चरणमा शीर्ष स्थान सुनिश्चित गरेको छ । जसको अर्थ हुन्छ, प्लेअफमा सुदूरपश्चिमले पहिलो क्वालिफायर खेल्नेछ ।
एक स्थानका निम्ति चार टिमको लडाईं
सुदूरपश्चिमले लिग चरणमा शीर्ष स्थान पक्का गरे पनि प्लेअफ पुगिसकेका काठमाण्डू र विराटनगरको स्थान भने निश्चित भइसकेको छैन ।
तालिकाको शीर्ष स्थानमा आसिन सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडेको छ । सुदूरपश्चिमले अब लिग चरणमा एक खेल खेल्न बाँकी छ ।
दोस्रो स्थानमा रहेको काठमाण्डूले लिग चरणका सातै खेल खेलिसक्दा पाँच जित र दुई हारसहित १० अंक जोडेको छ । सुदूरपश्चिमले विराटनगरविरुद्ध जित निकाले काठमाण्डूले लिग चरणमा दोस्रो स्थान पक्का गर्नेछ । जसको अर्थ हुन्छ, काठमाण्डू प्लेअफको पहिलो क्वालिफायर खेल्ने दोस्रो टिम बन्नेछ ।
यता, ६ खेलबाट आठ अंक जोडेको विराटनरले चार जित र दुई हार आत्मसात गरेको छ । प्लेअफ पुगिसके पनि पहिलो क्वालिफायरमा पुग्न विराटनगरलाई साविक उपविजेताविरुद्ध जितमात्र आवश्यक छैन, उसलाई राम्रो अन्तरमा हराउनु पर्ने बाध्यता पनि छ ।
सुदूरपश्चिमविरुद्ध पराजित भए विराटनगरले प्लेअफको इलिमिनेटर खेल्नुपर्ने हुन्छ । यी तीन प्लेअफमा पक्का भइसके पनि अन्तिम एक स्थानका निम्ति भने चार टिम लडाईंमा छन् ।
गत सिजन बिर्सनलायक प्रदर्शनसहित अन्तिम भएको लुम्बिनी पनि यो सिजन प्लेअफको प्रवल दाबेदार बनेको छ ।
तालिकाको चौथो स्थानको लुम्बिनीले ६ खेल खेल्दा तीन जित र तीन हारसहित ६ अंक नै जोडेको छ । शुक्रबारको एकमात्र खेलमा साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध जित निकाले लुम्बिनी प्रतियोगिताको प्लेअफ पुग्ने चौथो टिम बन्नेछ । लुम्बिनीले हार व्यहोरेमा तालिकाको चौथो हुने टिमले ६ अंकसहित प्लेअफमा स्थान बनाउनेछ ।
पाँचौँ र छैटौँ स्थानमा क्रमशः रहेका पोखरा एभेन्जर्स र चितवन राइनोजले समान चार अंक जोडेको छन् । यी दुवै टिमलाई बिहीबारको हार महंगो बन्यो ।
लिग चरणको आफ्नो अन्तिम खेलमा पोखराले चितवनविरुद्ध नै खेल्ने तालिका छ । यदि, शुक्रबारको खेलमा लुम्बिनी पराजित भए चितवन र पोखराबीचको खेलमा जित निकाल्ने टिम प्लेअफ पुग्ने सम्भावना प्रवल छ ।
तालिकाको सातौँ स्थानमा रहे पनि कर्णाली भने प्रतियोगिताको प्लेअफ समीकरणबाट बाहिरिसकेको छ । गत सिजन प्लेअफको दोस्रो क्वालिफायरसम्म पुगेको कर्णालीले अब लिग चरणको अन्तिम खेलमा जनकपुरविरुद्ध खेल्ने तालिका छ । यो कर्णालीका निम्ति केवल प्रतिष्ठाको लडाईंमात्रै बन्नेछ ।
गत सिजनको च्याम्पियन भए पनि यो सिजन तालिकाको पुछारमा छ, जनकपुर बोल्ट्स । पुछारमा हुँदा पनि जनकपुरको प्लेअफ पुग्ने झिनो सम्भावना अझै सकिएको छैन । पाँच खेल खेल्दा दुई अंक जोडेको जनकपुरले शुक्रबार लुम्बिनीविरुद्ध र लिग चरणकै अन्तिम खेलमा कर्णालीविरुद्ध जित निकाल्न सके ६ अंक नै बनाउने छ ।
तर, नेट रनरेट माइनसमा हुँदा प्लेअफमा पुग्न जनकपुरलाई यी दुवै खेलमा फराकिलो जित आवश्यक छ । तर, पोखरा र चितवनबीचको खेलमा कुनै टिमले एकतर्फी सहज जित निकाले जनकपुरको प्लेअफ सम्भावनामा नेट रनरेट बाधक बन्ने निश्चित छ ।