चैत २२, काठमाडौँ । लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सविरुद्ध २ सय ३ रनको बलियो योगफल तयार गरेको छ । अटल बिहारी वाजपेयी एकाना क्रिकेट स्टेडियममा घरेलु टोली लखनउले टस हारेर ब्याटिङको निम्तो पाएकोमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय ३ रनको बलियो योगफल तयार गर्यो ।

लखनउका लागि मिचेल मार्श र एडेन मारक्रमले अर्धशतक पूरा गरे । मार्शले ३१ बलमा ९ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ६० रन जोडे । पहिलो विकेटका लागि मारक्रम र मार्शले ४२ बलमा ७६ रनको साझेदारी गरेका थिए । मारक्रम ३८ बलमा २ चौका र ४ छक्काको सहयोगमा ५३ रनमा आउट भए ।
चौथो विकेटका लागि आयुष बदोनीसँग मिलेर मारक्रमले ५१ रनको साझेदारी गरे । बदोनी १९ बलमा ४ चौकाको सहयोगमा ३० रनमा आउट भए । अब्दुल समाद २ बलमा ४ तथा निकोलस पुरन ६ बलमा १२ जोड्दै आउट भए ।
डेविड मिलरले १४ बलमा ३ चौका र १ छक्काको सहयोगमा २७ जोडे । खराब लयमा रहेका कप्तान ऋषभ पन्त आज पनि चल्न सकेनन् र ६ बलमा २ रन जोड्दै आउट भए ।
दिल्लीविरुद्धको पहिलो खेलमा रनको खाता खोल्न नसकेका ऋषभले हैदराबादसँगको दोस्रो खेलमा १५ रन जोडेका थिए । ऋषभले पञ्जाबसँगको अघिल्लो खेलमा २ रन मात्र जोडेका थिए । २७ करोडमा लखनउमा आबद्ध भएका ऋषभले ४ खेलमा १९ रन जोडेका छन् ।
मुम्बईका लागि कप्तान हार्दिक पाण्ड्याले ४ ओभरमा ३६ रन खर्चिएर ५ विकेट लिए । ट्रेन्ट बोल्ट, अश्विनी कुमार र विग्नेश पुथुरले समान १ विकेट लिए ।
मुम्बई पछिल्लो खेलमा कोलकाता नाइट राइडर्सलाई पराजित गरेर लखनउको घरेलु मैदानमा पुगेको छ । लखनउ पछिल्लो खेलमा घरमै पञ्जाब किंग्ससँग पराजित भएको थियो ।
समान ३ खेलमा २ अंक जोडेको मुम्बई छैठौं र लखनउ सातौं स्थानमा छ । सन् २०२२ आइपिएलमा प्रवेश गरेको लखनउले मुम्बईविरुद्ध उत्कृष्ट हेड-टु-हेड रेकर्ड बनाएको छ ।
लखनउले ५ पटकको आइपिएल च्याम्पियन मुम्बइविरुद्ध ६ खेल खेलेको छ । जसमा लखनउ ५ र मुम्बईले १ मात्र खेल जितेको छ । लखनउ विरुद्ध मुम्बईले पाएको एक जित २०२३ को एलिमिनेटरको हो । बाँकी लिगका सबै ५ खेल लखनउले जितेको थियो ।