आज वि.सं. २०८२ वैशाख २० गते शनिवार तदनुसार ई. सं. २०२५ मई ०३ तारिख, सिद्धार्थ नामक संवत्सर, सूर्य उत्तरायण, वसन्त ऋतु, कलिगत ५१२६, शाके १९४७, नेपाल सं. ११४५, किरातवर्ष ५०८४, मञ्जुश्री वर्ष २८६१, हिजरी सं. १४४६, चन्द्रोदय : दिउँसो १०:२४ बजे र चन्द्रास्त : बेलुका १०:२६ बजे, सूर्योदय : बिहान ०५:२५ बजे र सूर्यास्त : साँझ ०६:३८ बजे, वैशाख शुक्लपक्ष (वछलाथ्व) षष्ठी तिथि, दिउँसो ०१:३२ बजेसम्म, त्यसपछि सप्तमी तिथि, पुनर्वसु नक्षत्र, साँझ ०६:०३ बजेसम्म, त्यसपछि पुष्य (तिष्य) नक्षत्र, चन्द्रमा मिथुन राशिमा, दिउँसो १२:०६ बजेसम्म, त्यसपछि कर्कट राशिमा

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
खेलकुद वा शारीरिक तन्दुरुस्तीसम्बन्धी विषयमा रुचि जाग्नेछ, नजानेको कुनै कुरा छ भने पनि मित्र र शुभचिन्तकको साथ÷सहयोग प्राप्त हुनेछ । सामाजिक क्षेत्रको काम वा सार्वजनिक हीतको विषयमा सक्रिय हुने मानसिकता बन्नुका साथै करियर परिवर्तन र उच्च शिक्षा पनि प्राथमिकताको विषय बन्नसक्छ, तर जीवनका विभिन्न आयाममा सन्तुलन राख्न प्रयास गर्नुपर्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मनले चाहेको व्यक्तिबाट कुनै नौलो कुरा सुन्न पाउँदा अझ हर्षित हुने वा कुनै उपहार प्राप्त गरेर दङ्गपर्ने समय हो । रुचिको क्षेत्रमा गरेको प्रयासमा सफलता मिल्ने दिन हो, थप धनार्जन गर्ने विषयमा चिन्ता गर्न सक्नुहुन्छ, साझेदारीमा आधारित व्यापारबाट राम्रो लाभ हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आजको कुनै पल तपाईंका लागि भावुक समय बन्नसक्छ, तर परिवारका सदस्य र जीवनसाथीको साथ मिल्नाले मन प्रसन्न रहनेछ । आत्मविश्वास जाग्नेछ, नयाँ कुरो जान्ने उत्सुकता बढ्नेछ, आलस्य नगरी लक्षप्रति उन्मुख भएमा उच्च सफलता हासिल गर्ने दिन हो । मनमा उत्साह र शरीरमा स्फूर्तिको उदय हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्दा धन लाभ भए पनि आत्मसम्मानमा बाधा पर्न सक्छ । बाध्यात्मक काममा सञ्चित धनको उपयोग हुनेछ । पार्टनरको भावनालाई बेवास्ता नगर्नुहोला, नत्र आनन्द र मनोरञ्जनको वातावरणमा अचानक निराश हुनुपर्ने र तनाव झेल्ने परिस्थिति आइपर्ने दिन हो ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
घरजग्गा व्यवसायीले कुनै लाभदायक सम्झौता गर्नसक्छन्, तर सहकार्यमा कुनै काम गर्दै हुनुहुन्छ भने अर्काको भरमा मात्र ढुक्क पर्नु ठीक हुँदैन । चाहेबमोजिम सबै कामहरू सम्पन्न हुनेछन्, पारिवारिक माहौल पनि ठीकै छ, तथापि अहङ्कार र घमण्डलाई कन्ट्रोल गर्ने समय हो । लक्ष्य प्राप्तिका निमित्त थप परिश्रम गरी लाभ पाउने समय हो ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
मज्जाले खट्नुपर्ने दिन हो, व्यस्त रहनाले दाम्पत्य र प्रेम जीवनसमेत प्रभावित बन्नसक्छ । आज शारीरिक तन्दुरुस्ती र आरामका बारेमा पनि विचार गर्नुहोला । मिहिनेतले भविष्य सुध्रनेछ, करियर र व्यवसायप्रतिको चासो बढ्नेछ, उच्च शिक्षाका छात्रछात्राले भावी कार्यक्षेत्रका बारेमा जानकारी बटुल्ने दिन हो । व्यक्तिगत प्रतिष्ठा र वर्चस्व स्थापना गर्न सकिने राम्रो समय छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
शरीर हलुका र मन प्रसन्न रहनेछ, लामो समयदेखि एकान्तमा बसेर भलाकुसारी भएको छैन भने अब निराश हुनुपर्दैन, भेटघाटको अनुकूलता मिल्नेछ । ठूलाबडाको सरसहयोग र सहानुभूति मिल्नेछ । पारिवारिक वातावरण पनि अनुकूल हुनेछ । नयाँ ठाउँको भ्रमण वा अवलोकन हुने समय हो ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
मनोरञ्जनमा केन्द्रित भइदिनाले पढाइ बिथोलिने दिन हो, सानो लापरबाहीले पनि भविष्य बिग्रन्छ भन्ने बुझेर थप मिहिनेत गर्नुपर्ने समय छ । बढ्दो ऋणभार र खर्चबृद्धिले तनावमा राख्नसक्छ, आज सकेसम्म आफैलाई रिफ्रेस गर्ने र बाधाहरूबाट बाहिर निकाल्ने समय हो । अल्छी गर्ने होइन, विपरीत परिस्थितिलाई जितेर अघि बढ्ने प्रयास गर्नुहोला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
रामरमाइलो र रमझमप्रति मनको आकर्षण रहने सुन्दर दिन छ । मनमा नयाँ उमङ्ग पलाउने छ । विवाहयोग्य उमेर छ र अविवाहित हुनुहुन्छ भने कुनै व्यक्तिप्रति विशेष आकर्षणसमेत बढ्न सक्छ । कार्यालयमा नौलो कामको जिम्मा लिएर मज्जाले खट्नुपर्ने समय छ, तर आज घरपरिवार र जीवनसाथीको चाहनालाई मनन गरी समय दिनुपर्ने परिस्थिति सिर्जना हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
अड्डा÷अदालत वा सरकारी काम पूरा गर्न राम्रो समय छ, तर आज झैझगडा र विवाद÷बहसबाट जतिसक्दो टाढा बसेको राम्रो हुनेछ । स्वास्थ्यक्षेत्र, काठपात, ढुंगागिट्टी, मिलमेसिनरी र ढुवानीसम्बद्ध कारोबारीले आयस्रोत बढाउन सक्नुहुन्छ, तर कार्यक्षेत्रमा विभिन्न चुनौती र सङ्घर्ष झेल्दै काम गर्नुपर्ने हुन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
महत्त्वपूर्ण कामलाई स्थगित नगर्नु होला, बरु अतिरिक्त समय वा कामदारको व्यवस्थापन गरी थालेको काम पूरा गर्नु ठीक हुन्छ । आत्मविश्वासमा बृद्धि हुनाले थप सफलता प्राप्त हुनेछ । शिक्षाक्षेत्र, आर्थिक कारोबार, सुनचाँदी जस्ता गहनागुरियाका व्यापारीका लागि राम्रो दिन देखिन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
यो जीवनको त्यस्तो चरण हो, जसमा कार्यक्षेत्र र पारिवारिक समस्यालाई सन्तुलनमा राख्ने प्रयास गर्नुपर्छ । दूरदराजको यात्रा वा वैदेशिक प्रयोजनको कामका लागि प्रयास गर्न अनुकूल समय रहेको छ । बाध्यात्मक घरायसी काममा खट्नुपर्ने हुँदा कार्यक्षेत्रमा प्रभाव पर्नसक्छ, तथापि श्रम गरेबमोजिम राम्ररी नै कार्यालयको काम सम्पादन हुनेछ ।