चैत ११, काठमाडौं । नेकपा एमालेले उप चुनावका लागि उम्मेदवार तय गरेको छ । पार्टी मुख्यालयमा बसेको एमाले सचिवालय बैठकले इलाम र बझाङका लागि उम्मेदवार चयन गरेको हो ।

जिल्ला कमिटी इलामले बुद्धि खनाल, रवीन्द्र सुवेदी, नरेन्द्रनाथ भट्टराई, देवी दुलाल र सुहाङ नेम्वाङको नाम सिफारिश गरेकोमा सचिवालय बैठकले इलाम–२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । २०७९ सालको निर्वाचनमा इलामबाट एमाले नेता सुवास नेम्वाङ निर्वाचित भएका थिए। नेम्वाङको दृदयघातबाट निधन भएको थियो।
प्रदेश सभा सदस्यको उपनिर्वाचनका लागि बझाङ १ ‘क’ मा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय भएको छ । २०७९ सालको निर्वाचनमा बझाङ १‘क’ बाट नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह निर्वाचित भएका थिए। उनको गत असार ५ मा गाडी दुर्घटनामा निधन भएको थियो।
आगामी बैशाख १५ गते उप निर्वाचन हुदैँछ ।