• २०८३ असार १२ गते शुक्रवार

संस्कृतिका असल पक्षलाई प्रवर्द्धन गर्नुपर्छः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

खबर24नेपाल पढ्न लाग्ने समय : २ मिनेट

चैत ११, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमा (होलीपर्व)मा मौलितकतालाई जोगाउन आह्वान गर्नुभएको छ । उहाँले होलीपर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा शुभकामना व्यक्त गर्दै संस्कृतिका असल पक्षलाई प्रवर्द्धन गर्न चाडपर्वलाई मितव्ययी र विकृतिरहित राख्नपर्नेमा जोड दिनुभएको हो ।

उहाँले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिलाई निर्मूल गर्दै न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न यस पर्वबाट सबैमा प्रेरणा शुभकामना व्यक्त गर्नुभएको छ ।

फागुपूर्णिमा (होली) पर्व, २०८० को अवसरमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दिनुभएकाे शुभकामना : नेपालीहरूको महान् पर्व फागुपूर्णिमा (होली)को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको कामना गर्दछु ।

उराठलाग्दो र चिसो शिशिर ऋतुलाई बिदा गर्दै प्रकृति र मानव जीवनमा नयाँ उमङ्ग लिएर आउने ऋतुराज वसन्तका विविध रङ्गहरू प्रतिविम्बित गर्ने पर्वका रूपमा हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी जिल्लाहरूमा र त्यसको भोलिपल्ट तराईका जिल्लाहरूमा विभिन्न रङ तथा अबिर खेल्दै उत्साह र उल्लासका साथ फागुपूर्णिमा (होली) मनाउने परम्परा रहेको छ ।

आदिकालदेखि नै समाजमा असल र खराब प्रवृत्ति बीच द्वन्द्व चल्दै आएतापनि आखिरीमा सत्यकै जित हुन्छ भन्ने मान्यतालाई यस पर्वले प्रखर रूपमा अभिव्यक्त गर्दछ । अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुशियालीमा फागुपूर्णिमा (होली) मनाइन्छ । तसर्थ, समाजमा विद्यमान दुष्प्रवृत्तिलाई पराजित गर्दै सत्य र न्यायको पक्षमा अविचलित रूपले क्रियाशील रहन यस सांस्कृतिक पर्वले हामीलाई प्रेरणा प्रदान गर्दछ ।

भौगोलिक, जातीय‚ भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण नेपाली समाजमा सम्पूर्ण नेपाली बीच आपसी प्रेम, सद्‌भाव र सहिष्णुता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन फागुपूर्णिमा (होली) पर्वले योगदान पुर्‍याउने विश्‍वास मैले लिएको छु ।

रङ्गहरूको पर्वका रूपमा लिइने फागुपूर्णिमा (होली) पर्वका अवसरमा प्रयोग गरिने रङ्गमा स्वास्थ्यका लागि हानिकारक रसायनको समेत मिश्रण हुन सक्ने भएकाले यस्ता रङ्गहरूको प्रयोगमा सावधानी अपनाउनु आवश्यक छ । साथै, होली पर्व मनाउँने सन्दर्भमा देखिने जोरजबरजस्ती, मादक पदार्थ सेवन र फोहर पानी भरिएको लोलाको प्रयोग जस्ता उत्ताउलोपनले हाम्रा चाडपर्वको मौलिकतालाई नष्ट गर्नुका साथै यसको महत्वलाई नै घटाउँदछ । तसर्थ, हाम्रो संस्कृतिका असल पक्षहरूलाई प्रवर्द्धन गर्न चाडपर्वहरूलाई मितव्ययी र विकृतिरहित राख्नुपर्दछ । हरेक पर्वसँग गाँसिएको इतिहास, सभ्यता र पौराणिकताको गहिराई आत्मसात् गर्न सके मात्र हाम्रो अद्वितीय संस्कृतिको मौलिकता जोगाउन सकिन्छ ।

अन्तमा, समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिहरूलाई निर्मूल गर्दै न्यायपूर्ण‚ सभ्य र सुसंस्कृत समाज निर्माण गर्न फागुपूर्णिमा अर्थात् होली पर्वबाट हामी सबैमा प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्दछु ।

Sharing

प्रतिक्रिया दिनुहोस