आज वि.सं. २०८० चैत्र १० गते शनिवार तदनुसार ई. सं. २०२४ मार्च २३ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, वसन्त ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४४, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८६०, हिजरी सं. १४४५, चन्द्रोदय : साँझ ०४:३६ बजे र चन्द्रास्त : भोलि बिहान ०४:२५ बजे, नेपालमा सूर्योदय : बिहान ०६:०७ बजे र सूर्यास्त : साँझ ०६:१६ बजे, फाल्गुन शुक्लपक्ष (चिल्लाथ्व) त्रयोदशी तिथि, बिहान ०७:४८ बजेसम्म, त्यसपछि चतुर्दशी तिथि, पूर्वाफाल्गुनी नक्षत्र, (अहोरात्र व्याप्त) चन्द्रमा सिंह राशिमा (अहोरात्र व्याप्त)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
प्रयास गरेको कुनै पनि साधनाले पूणर्ता प्राप्त गर्नेछ । नजानेर अड्किएका विषयमा आज पुनः प्रयास गर्नु राम्रो हुन्छ । अनुयायी, जुनियर स्टाफ र सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बनाउन सकिने तथा नयाँ काम सुरु गर्ने समय हो । उद्यमी र लगनशील व्यक्तिले अझ धेरै फाइदा बटुल्नेछन् ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
लवलाइफ र रोमान्टिक जीवनमा केही असहजता वा बाधा आइलाग्ने समय हो, तथापि घरपरिवार र सँगीसाथीको साथ पाउनाले मन प्रसन्न रहने छ । पदप्रतिष्ठामा अभिबृद्धि हुने तथा आम्दानीका मार्गहरू सहज हुने सुन्दर दिन छ, घरपरिवारमा सम्पर्क राखी भावना साटासाट गर्न पाउँदा शान्तिको अनुभूति हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
पारिवारिक वातावरण सुखमय रहनेछ, सँगीसाथीसित भेटघाट गर्दै नयाँ योजना बनाउने समय हो, कहीं कतै भ्रमणमा निस्कने योगसमेत बनेको छ । कुनै कुरा नजानेर अलमलमा पर्नुभएको छ भने साथीहरूसँग छलफल गरी जानकारी बटुल्ने दिन हो, नयाँ कुरो सिक्न पाइने छ । परिश्रमको प्रतिफल पाउने समय हो, यसबाट तपाईंको शक्ति र प्रतिष्ठामा बृद्धि हुनसक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आन्तरिक क्षमताको प्रयोग गरी वा मुख र हाउभाउकै माध्यमबाट कुनै विशेष अवसर फुत्काउन सक्नुहुन्छ, अतिरिक्त आम्दानीका लागि मिहिनेत गर्ने दिन हो । सुख एवं समृद्धिमा बृद्धि हुनेछ, घुमघाममा निस्कने वा मस्ती गर्ने योजना बन्नसक्छ, तर खर्च हुनसक्ने भएकाले गोजी दह्रो बनाउनु ठीक हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
व्यवस्थापकीय कमी कमजोरी हटाउन प्रयास गर्ने दिन हो, नयाँ कामको थालनी गर्न कामदार र सहयोगीको सुझाव लाभप्रद रहनेछ । मनमस्तिष्क नै हलुका र उत्साही बन्नेछ, कामको चापबाट फुर्सद पाइने छ, जीवनसाथीका साथ कुनै सानोतिनो यात्रामा निस्कने योग बनेको छ । अवसरको खोजी गर्ने दिन हो।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
राखनधरनप्रति सचेत हुने र तालसाँचो बलियो बनाउनुपर्ने दिन हो, अझ घरमा नयाँ र नौलो मानिसको उपस्थिति छ भने सतर्कता अपनाउनु होला । पठनपाठनमा ध्यान केन्द्रित हुँदैन, चित्तमा शान्ति होस् र मन स्थिर होस् भन्ने उद्देश्यले मेडिटेसन, योग र ध्यानतर्फ आकर्षित हुनुपर्छ । कामधाममा भन्दा पनि कल्पना र भावनामा केन्द्रित भइने छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
मानसिक सन्तुष्टिको समय हो, तथापि आज कुनैकुनै कुरामा भावनामा वहन सक्नुहुन्छ । पार्टनरलाई कुनै उपहार दिएमा सम्बन्धमा अझ प्रगाढता छाउनेछ । उच्चकोटिको पारिवारिक सुख मिल्नेछ, लामो समयदेखि सम्पर्क भएको छैन भने आजको केही समय घरपरिवार र आफन्तलाई पनि छुट्याउनु होला ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
इच्छाशक्ति बढ्नुका साथै लक्ष्य प्राप्त गर्ने साहस जुट्नेछ । प्रविधि र खोजमूलक विषयका छात्रछात्राले अझ राम्रो गर्नसक्ने दिन हो । सङ्घर्ष नै जीवनको अर्को नाम हो भन्ने ठानी अघि बढ्दा महत्त्वाकाङ्क्षा पूरा गर्नुका साथै करियरमा परिवर्तन ल्याउन सक्नुहुन्छ । प्रयास गर्दा सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । धन, मान र प्रतिष्ठा बढ्ने दिन हो ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
सफलता चाहनेले समस्या पहिल्याउनमा होइन, समाधान खोज्नमा ध्यान केन्द्रित गर्नुपर्छ, भविष्य सुध्रनुका साथै ठोस आम्दानीसमेत हासिल हुनसक्छ । तपाईंले केवल प्रयास गर्ने हो, भाग्यले नचिताएको उपलब्धि प्रदान गर्नेछ । आम्दानीको मार्गमा बढोत्तरी हुनाले जीवनमा नयाँ आयाम थपिने दिन हो । विदेशी परियोजनामा काम गरेमा सुसुप्त चाहनालाई जीवन्त तुल्याउन सकिने छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आफन्त वा मित्रवर्गमा विरोधाभास र मतभेद बढ्ने समय हो । बल प्रदर्शन गर्ने र तुजुक देखाउने काममा पछि हट्नु ठीक हुन्छ । सहयोगीको अनुपस्थितिले दैनिक कारोबारमा मन्दी छाउने समय छ, तर पुरानो बाँकी बक्यौता उठाउने प्रयास गर्नुहोला, डुबेको वा गुमेको धन हातपार्न सक्नुहुन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
पारिवारिक जीवन र दाम्पत्य जीवन सुखमय रहनेछ । आज मिलनसार स्वभावको विकास हुनाका साथै ठूलाबडासँग सम्बन्ध बन्ने दिन हो । आम्दानीका दृष्टिले कमजोर समय छैन, तर मन भावुक र चञ्चल बन्नसक्छ, त्यस्तै पारिवारिक प्रयोजनमा पनि केही समय खर्च हुनसक्छ । पारिवारिक सुखमा कमी देखिंदैन।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
प्रतिष्ठा प्राप्त गर्न प्रतिस्पर्द्धा गर्ने दिन हो । चिन्तनमननमा निर्लिप्त हुने परिस्थिति पनि बन्नेछ, कुनैकुनै विषयमा बेकारको तर्क वा बहस हुनसक्ने दिन हो, त्यसैले मुखमा लगाम लगाएकै जाती हुन्छ । कार्यालयमा सहयोगी साथीहरू र घरमा परिवारका सदस्यहरूले तपाईंका कुरा नबुझिदिंदा दिक्क मान्न सक्नुहुन्छ, तर आज रिस र आवेगमा नियन्त्रण गरेको असल हुन्छ ।