आज आजको पञ्चाङ्ग : वि.सं. २०८० चैत्र ०७ गते बुधवार तदनुसार ई. सं. २०२४ मार्च २० तारिख, पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, वसन्त ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४४, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८६०, हिजरी सं. १४४५, चन्द्रोदय : दिउँसो ०२:१९ बजे र चन्द्रास्त : मध्यरात्रीपछि ०२:०७ बजे, सूर्योदय : बिहान ०६:१० बजे र सूर्यास्त : साँझ ०६:१४ बजे, फाल्गुन शुक्लपक्ष (चिल्लाथ्व) एकादशी तिथि, भोलि बिहान ०४:२५ बजेसम्म, त्यसपछि द्वादशी तिथि, पुष्य (तिष्य) नक्षत्र, मध्यरात्रीपछि १२:४९ बजेसम्म, त्यसपछि अश्लेषा नक्षत्र, चन्द्रमा कर्कट राशिमा (अहोरात्र व्याप्त)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
पेसागत र व्यवसायिक परिस्थिति राम्रै देखिन्छ, तर आज घरपरिवारलाई पनि केही समय छुट्याउनु होला, नत्र आपसी विचार/विमर्शमा खाडल सिर्जना हुनेछ । सँगीसाथी र विश्वासपात्रले नै निचो देखाउने र गोपनीयता भङ्ग गर्ने प्रयास गर्नेछन् । व्यक्तिगत जीवनका बारेमा बढी खुलस्त हुनु राम्रो मानिंदैन ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
काममा दुविधा भए साथीभाइको सल्लाह लिन सकिने छ, औजार, हातहतियार, किराना सामाग्री, मनिहारी वा सरकारसम्बद्ध ठेक्कापट्टाका व्यवसायीले लाभ पाउनेछन् । माइतीपक्ष वा दिदीबहिनीका बारेमा कुनै शुभ समाचार प्राप्त हुनेछ । धार्मिक प्रयोजनको काम वा सामाजिक क्रियाकलापमा पनि दौडधूप गर्नुपर्ने दिन हो ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
धनप्राप्तिको योग बनेको छ, स्थिर प्रयोजनको लगानीका लागि अनुकूल समय छ, पछिसम्म फाइदा हुने कुनै काम सम्पन्न हुनेछ, बहुमूल्य वस्तु र पुराना चिजबीज सङ्कलन गर्न मन लाग्छ । कठोर शब्द र खरो बोलीका कारण सेवाग्राही असन्तुष्ट र रुष्ट हुनसक्ने समय हो, तर सहकर्मी साथी र हाकिमको साथसहयोग मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
प्रत्येक काममा बाधा आउने र ढिलो हुने सम्भावना छ । कहिलेकाँही असुरक्षाको हीनभावना विकसित हुनसक्छ । कामको बोझ बढ्नेछ । कृषिक्षेत्र, बनबुट्यान, काठपात र औषधी व्यवसायीका लागि राम्रो दिन छ, नयाँ काममा हात हाल्ने वा स्थिर काममा थप लगानी गर्ने समय हो । जीवनसाथी र परिवारका सदस्यहरूको पूर्ण सहयोग रहने दिन छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मनमा दुविधा छ वा बढी थकान र बोझको अनुभूति भएको छ भने आराम गरेर तन्दुरुस्त हुनु जायज हुन्छ । अवसर प्राप्तिका निमित्त दौडधूप र परिश्रम गर्नुपर्ने समय हो, तर आफ्ना भावनालाई नियन्त्रणमा राखी व्यवहार गर्नु समुचित हुन्छ, नत्र यसबाट अरुलाई मात्र होइन, आफू स्वयंलाई समेत हानी पुग्नसक्छ । कुनै व्यक्तिगत समस्या आइपर्नाले कार्यक्षेत्रमा खट्ने अनुकूलता मिल्दैन ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
लगनशीलता र मिहिनेतको पुरस्कार हातपार्ने तथा आत्मविश्वास र सुदृढ लक्ष्यका कारण सफलतातर्फ अग्रसर भइने सुन्दर समय छ । रचनात्मक र सिर्जनात्मक सोचका कारण कार्यक्षेत्रमा अद्भूत परिणाम प्राप्त हुनेछन् । कुनै पुरानो समस्यामा घोत्लिनुपर्ने तथा असमझदारी बढ्नाले कार्यक्षेत्र प्रभावित बन्नसक्ने दिन छ । तर पनि सहकर्मी र सिनियर्सको सहयोग पाउने दिन हो ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
थप मिहिनेत गर्न हौसला प्राप्त हुनेछ, कुनै नयाँ काम थालनी गर्ने हो भने सिनियर्सको सहयोग लिएमा सफल भइने छ । दाम्पत्य जीवन सुखमय नै रहनेछ, तर थप जिम्मेबारी र दायित्व बढ्ने समय छ, घरपरिवारभित्रकै वा आफन्तको काममा अलि बढी खट्नुपर्ने दिन हो । भाग्य भरोसामा रहने होइन, स्वयं आफूलाई विश्वास गर्ने समय हो।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
मान्यजन वा उच्चपदस्थ अधिकारीहरूले हृदयदेखि नै प्रशंसा गर्नेछन्, त्यस्तै अर्काको सहयोग गर्न पाउँदा सन्तोषको अनुभूति हुने समय छ । रोमान्टिक जीवनभन्दा पनि यतिवेला घरपरिवार र अभिभावक महत्त्वपूणर् बन्नसक्छन्, भावनालाई नियन्त्रण गरी कुराकानी गर्ने र पार्टनरलाई फकाउने प्रयास गर्नुहोला । गरेको मिहिनेत र भएका प्रयासको राम्रो परिणाम प्राप्त हुने राम्रो दिन छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
पार्टनरसँग कुनै नौलो र रमणीय ठाउँको यात्रा गर्ने तिर्सना जाग्नसक्छ, तर परिबन्दमा खुम्चनु पर्दा मन निराश बन्ने समय हो । कुनै महत्त्वपूणर् चिजबिज हराउने वा नाश हुने खतरा छ । सिनियर स्टाफ, हाकिम वा गुरुजनसँगको सम्बन्धमा नकारात्मकता देखिने छ । छोटो दूरीको व्यवसायिक यात्रामा निस्कन अनुकूल समय छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आन्तरिक तिर्सनाको परिपूर्ति हुने दिन हो । पतिपत्नीका बीचमा समझदारी बढ्नेछ । आज कुनै भनुँ भनुँ लागेको कुरा बताउने दिन हो । सुख/सुविधाप्रतिको मोह बढ्नेछ, मन कल्पना र भावनामा रुमल्लिन सक्छ । अल्छी नगरी पढाइमा ध्यान दिएमा राम्रो उपलब्धि पाइने छ । व्यक्तित्वमा निखार आउने छ, धेरैको मन लोभ्याउन सकिने र प्रेमिल भावना विकसित हुने दिन हो ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
घमण्ड र क्रोधमा बृद्धि हुनसक्छ, तर पनि व्यक्तिगत कार्य र पारिवारिक जिम्मेबारीका बीच तालमेल मिलाउन सकेमा विवाद एवं अपजसबाट बच्न सकिन्छ । पढाइमा परिश्रम गरे अनुसार प्रतिफल पाइनेछ । सिर्जनात्मक क्रियाकलापमा समेत संलग्न भइने छ, साहसी वा पराक्रमी काममा पनि मन जानसक्छ । परिवारमा चलिरहेको कुनै असमझदारी वा भ्रमको निवारण हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मनको कुरो खुलस्त पार्ने दिन हो, पार्टनरसँग असन्तुष्टि र निराशाका बारेमा बताउनुहोला, एकअर्काको मनोभाव बुझी काम गर्नसके सम्बन्धमा दृढता आउनेछ । सोच्ने सामर्थ्यमा कमी भएको आभास हुनेछ, एकान्तमा मात्र मन रमाउने दिन हो, तर आज सामाजिकता र सहकार्यमा ध्यान दिनु ठीक हुन्छ ।