पुस १, काठमाडौं । १९ वर्षमुनिको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालले हङकङलाई ३ विकेटले हराएको छ ।
हङकङले दिएको १ सय १४ रनको लक्ष्य नेपालले २६ ओभर ४ बलमा ७ विकेट गुमाएर भेटायो । नेपालका सिब्रिन श्रेष्ठले २३ रन बनाए । हङकङका डनिल मापले ४ विकेट लिए ।
यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङ ४१ ओभर १ बलमा १ सय १३ रनमा अलआउट भयो । हङकङका अब्दुल समादले अर्धशतक बनाए । हङकङका चार जना खेलाडीले एक रन पनि जोड्न सकेनन् । नेपालका सन्तोष यादवले ४ विकेट लिए ।
नेपाल र हङकङबीचको दोस्रो खेल पर्सि बुधवार र तेस्रो खेल आउँदो शुक्रवार हुनेछ । १९ वर्षमुनिको विश्वकप एशिया छनोटको तयारीका लागि नेपाल र हङकङबीच यो शृङ्खला भइरहेको हो । विश्वकप एशिया छनोट आउने वर्षको अप्रिलमा काठमाण्डौमा हुनेछ ।