चैत २९, नई दिल्ली। आईपीएल २०२४ को २५ औं मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोरबीचको वानखेडे स्टेडियममा भएकाे खेलमा बैंगलोरले मुम्बईलाई १९७ रनको लक्ष्य दिएकाे छ । मुम्बईका कप्तान हार्दिक पाण्ड्याले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन ।
टस जितेर ब्याटिङ गरेको बैंगलोरले ८ विकेटमा १९६ रन बनायो । बैंगलोरका लागि फाफ डु प्लेसिसले सर्वाधिक ६१ रन बनाए । रजत पाटीदारले ५० र दिनेश कार्तिकले ५२ रनको योगदान दिए । मुम्बईका लागि बुमराहले सर्वाधिक ५ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गर्न आएको बेंगलुरुको टोलीलाई १४ रनको स्कोरमा पहिलो झटका लागेको थियो । विराट कोहली ३ रन बनाएर आउट भए । बुमराहले उनलाई प्याभिलियनको बाटो देखाए । यसपछि आरसीबीलाई दोश्रो झटका आकाश मधवालले दिएका थिए भने डेब्यु खेलाडी विल ज्याक ८ रन बनाएर प्याभिलियन फर्किएका थिए । त्यसपछि फाफ डु प्लेसिस र रजत पाटीदारबीच तेस्रो विकेटका लागि ४७ बलमा ८२ रनको साझेदारी भयो । त्यसपछि जेराल्ड कोएत्जीले पाटीदारलाई प्याभिलियनको बाटो देखाए । रजत पाटीदार २६ बलमा ५० रनको इनिङ खेलेर आउट भए ।
यसपछि यो खेलमा पनि ग्लेन म्याक्सवेल खाता नखोल्दै प्याभिलियन फर्किएका थिए, उनलाई श्रेयस गोपालले आउट गरेका थिए भने राम्रो इनिङ खेलेपछि फाफ डु प्लेसिस पनि आउट भएका थिए । उनी ४० बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ६१ रनको इनिङ खेल्दै जसप्रित बुमराहको शिकार बने । यसपछि आरसीबीलाई महिपाल लोमरोरको रूपमा छैटौं झटका लाग्यो। महिपाल लोमर पनि खाता नखोलेर आउट भए । बुमराहले पनि उनलाई प्याभिलियनको बाटो देखाए ।
