• २०८३ बैशाख ७ गते सोमवार

गुटबन्दीको सिकार हुँदै प्रदेश अधिवेशन, रुपन्देही केन्द्रीत पौडेल गुटको भेला सम्पन्न

खबर24नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ १४, बुटवल । नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनी प्रदेशको प्रथम अधिवेशन नजिकीदै गर्दा दिनहुँ उपाध्यक्ष विष्णु पौडेल निकटका भेलाहरु धमाधम भइरहेका छन् । यही भदौ १६ र १७ गते बुटवलमा हुन लागेको अधिवेशनमा आफ्नो पक्षका नेतालाई विजयी बनाउन गुटका भेलाहरु आयोजना गर्नुका साथै कार्यकर्तालाई आतङ्कीत पार्ने क्रम जारी छ ।

हिजो (बुधबार) रुपन्देहीकोे ड्रिमल्याण्ड होटलमा प्रदेशस्तरका नेताहरुकोे गोप्य भेला सकिएको २४ घण्टा बित्न नपाउँदै पौडेल पक्षले आज बिहीबार रुपन्देहीस्तरिय भेला आयोजना गरेको छ । प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठको नेतृत्वमा आयोजित भेलाले राधाकृष्ण कडेल नेतृत्वको टिमलाई सफल बनाउन सबै खालका प्रयास गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।

रुपन्देहीबाट सोचेभन्दा बढी मत आफ्नो पक्षमा नआउने अवस्था आएको भन्दै प्रदेश उपाध्यक्ष श्रेष्ठले सबै मत आफ्नो पक्षमा पार्न लाग्न निर्देशन दिएका छन् । ‘यो निर्वाचनमा सम्पूर्ण मत हाम्रो पक्षमा पार्न सबै लाग्नुपर्छ । हामीले सोचे भन्दा बढी मत फुत्किने अवस्था आएको बुझिएको छ’, उपाध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘सबै लागिएन भने हाम्रो माहोल अझ बिग्रन सक्छ ।’

रुपन्देहीको मणिमुकुन्द पार्कमा भएको भेलामा प्रदेश सदस्य पूरण गुरुङलगायत प्रदेश र जिल्लास्तरका नेताहरुको सहभागीता रहेको थियो । अधिवेशन नजिकिदै जाँदा चर्को गुटबन्दी देखिएको छ । गुटबन्दी चर्को बन्दै जाँदा एकले अर्को पक्षलाई कमजोर पार्न धम्की र त्रास दिन थालिएको छ । गयराति एमाले रूपन्देही क्षेत्रनम्वर २ क्षेत्रीय कमिटीका संयोजक बाबुराम पन्थीले अश्लिल शब्द प्रयोग गर्दै धम्क्याएको अडियो सार्वजनिक भएको थियो । उनले फेसबुकमा अध्यक्षका आकांक्षी राधाकृष्ण कँडेलले हार्नसक्ने भन्दै कमेण्ट र प्रतिक्रिया दिने एमाले कार्यकर्ता ऋषि रिजाललाई अश्लिल शब्दसहित धम्क्याएका थिए । ‘ए तिम्रो बाउको टाउको,…..तिम्रो मान्छे को छ बुटवलमा ?’, अश्लिल शब्द प्रयोग गर्दै धम्क्याएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस