• २०८३ कार्तिक ११ गते मङ्गलवार

जेल मुक्त भएलगतै चौधरी पत्नी रन्जीता भेट्न मन्त्री क्वाटर पुगे

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

जेठ १५, काठमाडौं । जेल मुक्त भए लगतै रेशम चौधरी पत्नी रन्जीता श्रेष्ठ भेट्न पुल्चोकस्थित मन्त्री क्वाटर पुगेका छन् । छ वर्षको कैद सजायपछि चौधरी सोमवार बिहान ७ः३० बजे जेल मुक्त भएका थिए । उनको स्वागतका लागि सादरखोर डिल्लीबजार कारगार परिसरमा बिहानैदेखि नागरिक उन्मुक्ति पार्टीका पदाधिकारी पुगेका थिए । फुलमालासहित पुगेका उनीहरुले चौधरीलाई भेट्न पाएनन् । जेल मुक्त भए लगतै उनलाई बुबा लालबीर चौधरीले गाडीमा राखेर पुल्चोकस्थित मन्त्री क्वाटर लगेका थिए ।

उन्मुक्ति पार्टीकी महासचिव रत्न थापाले जेल मुक्त भए लगतै चौधरीलाई मन्त्री क्वाटर लगिएको बताइन् । उनले भनिन्,‘रेशम चौधरी आज बिहानै जेल मुक्त हुनुभयो । स्वागतका लागि हामी कारागारको गेटमा थियौं । तर, भेट्न पाएनौं । जेल मुक्त हुन साथ उहाँलाई गाडी राखि पुल्चोकस्थित मन्त्री क्वाटर लगियो । उहाँ अहिले श्रीमतिसँग हुनुहुन्छ ।’ चौधरी पत्नी रन्जीता श्रेष्ठ भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री छिन् । नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष समेत रहेकी उनी मन्त्री क्वाटर पुलचोकमा बस्दै आएकी छिन् । गणतन्त्र दिवासको अवसरमा उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आममाफि दिने घोषणा गरेका थिए । त्यस लगतै उनी जेल मुक्त भएका थिए । आइतवार बिहान बसेको मन्त्री परिषद् बैठकले चौधरीलाई आममाफि दिन राष्ट्रपति पौडेल समक्ष सिफारिस गरेको थियो । त्योसँगै चौधरीको १४ वर्ष ९ महिना कैद सजाय मिनाहा भएको छ ।

चौधरीसँगै कैद सजाय भुक्तान गरिरहेका १९ जना जेल मुक्त भएका छन् । उनीहरुलाई संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५९ बमोजिम गणतन्त्र दिवसको उपलक्ष्यमा आममाफी दिइएको हो । राज्य पुनर्संरचनाको बिषयलाई लिएर ०७२ को भदौमा कैलालीमा थारुहट र अखण्ड सुदूरपश्चिम पक्षधरबीच भिषण झडप भएको थियो । सोही क्रममा ७ भदौ ०७२ मा टिकापुरमा हिंसा भएको थियो । घटनामा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपने, प्रहरी निरिक्षक बलराम विष्ट र केशव बोहरा, प्रहरी हवल्दार लक्ष्मण खडका तथा प्रहरी जवान लोकेन्द्र चन्दसहित सात प्रहरी कर्मचारीको हत्या भएको थियो । घटनामा एक नावालकको पनि हत्या भएको थियो । घटनापछि भएको अनुसन्धानमा थारुहट पक्षधरले उनीहरुलाइ भाटा र भालाले घोचीघोची हत्या गरिएको खुलेको थियो । घटनापछि चौधरी फरार भएका थिए ।

०७४ को आम निर्वाचनमा चौधरी वारेसनामामार्फत कैलाली–१ बाट प्रतिनिधि सभा सदस्यमा उठेका थिए । उनले भारी मत ल्याएर चुनाव जितेका थिए । त्यसपछि उनले १५ फागुन २०७४ मा कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए । सदरखोर डिल्ली बजार कारगारमा रहेका उनलाई जिल्ला अदालत कैलालीले घटनामा मुख्य योजनाकार प्रमाणित गर्दै जन्म कैदको सजाय फैसला गरेको थियो । जिल्ला अदालतको फैसला विरुद्ध उनीपछि उच्च अदालत दिपालय पुगेका थिए । उच्चले पनि जिल्लाकै फैसला सदर गरेको थियो । उच्चको फैसला विरुद्ध उनी सर्बोच्च अदालत पुगेका थिए । सर्बोच्चले उच्चकै फैसला सदर गर्दै उनी विरुद्ध जन्म कैदका सजाय सुनुवाई गरको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस