असार ८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशको विकासका लागि सरकारले राजमार्ग र कोरिडोर निर्माणका साथै शिक्षा,स्वास्थ्य लगायतका क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको जिकिर गरेका छन् । बिहीवार प्रतिनिधि सभा बैठकमा सांसद अम्बरबहादुर थापाले उठाएको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री दाहालले यो वर्षको बजेटमा कर्णाली प्रदेशको भौतिक विकासलाई उच्च प्राथमिकतामा राखेर विनियोजन गरेको उल्लेख गरे ।

उनले भने,‘कर्णाली प्रदेशलाई लक्षित गरि कर्णाली संमृद्धि कार्यक्रम सञ्चालित छ । हिमाली तथा उच्च पहाडी जीविकोपार्जन कार्यक्रम कर्णालीको माथिल्लो भूभागमा सञ्चालन भैरहेको छ । आगामी वर्षमा कर्णाली प्रदेशमा सिँचाई तथा नदी नियन्त्रणका लागि छुट्टै बजेटको व्यवस्था गरिएको छ ।’
सांसद अम्बरबहादुर थापाले कर्णाली सहित अन्य दुई प्रदेशमा सरकारले विशेष बजेट मार्फत जनताका आवश्यकतालाई सम्बोधन गर्ने भनेपनि बजेटमा कर्णालीको लागि विशेष बजेट नदेखिएको भन्दै ‘सरकारको विशेष बजेट कहाँ छ ?’ भन्दै प्रधानमन्त्रीसंग जवाफ माग गरे ।
प्रतिउत्तर दिदै प्रधानमन्त्री दाहालले कर्णालीको विकासका लागि सडक र राजमार्ग जस्ता भौतिक पूर्वाधार निर्माणलाई तीव्रता दिन उच्च प्राथमिकता दिएर बजेटमा सम्बोधन गरेको बताए ।
‘कर्णाली कोरिडोर सडक राष्ट्रिय गौरवको आयोजनाको रुपमा सञ्चालित छ । राप्ति राजमार्ग, भेरी कोरिडोर,मध्यपहाडी लोकमार्गको कर्णाली खण्ड र मदन भण्डारी राजमार्गको कर्णाली खण्डको लागि सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गरेको छ । शिक्षा,स्वास्थ्य तर्फको बजेटमा समेत सरकारले कर्णालीलाई उच्च प्राथमिकतामा दिएर राखेको छ ।’ उनले नेपालको समग्र विकास मोडलबारे समीक्षा गर्नुपर्ने आवश्यकता रहेकोभन्दै प्रदेश तथा देशको समग्र विकासको लागि विकास मोडलबारे समीक्षा गर्न सरकार गम्भीर रहेको चर्चा गरे ।