कात्तिक ५, काभ्रेपलाञ्चोक । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँअन्तर्गत महाअष्टमीको शुभअवसरमा आज विहान काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गर्नुभएको छ । राष्ट्रपति पौडेलसँग प्रथम महिला सविता पौडेल पनि पूजाअर्चनामा सहभागी हुनुहुन्थ्यो । राष्ट्रपति पौडेल पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित पलान्चोक भगवती मन्दिरमा दर्शन गर्न आज बिहान पाँचखाल आउनु भएको हो ।
बडा दसैँका अवसरमा महाअष्टमीको दिन राष्ट्र प्रमुखले पलान्चोकसहित नवदुर्गा भगवतीको दर्शन तथा पूजाअर्चना गर्ने परम्परा रहिआएको छ । राष्ट्रपति पौडेललाई मन्दिर आउनुभएका दर्शनार्थीले स्वागत गर्नुभएको थियो ।
राष्ट्रपति पौडेललाई जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतम, पाँचखालका नगरप्रमुख महेश खरेल तथा उपप्रमुख सूर्यमाया दनुवार, काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा तथा स्थानीय जनप्रतिनिधिले पलाञ्चोक भगवती मन्दिर परिसरमा स्वागत गर्नुभएको थियो ।
