आज वि.सं. २०७९ माघ २७ गते शुक्रवार तदनुसार ई. सं. २०२३ फेब्रुवरी १० तारिख, नल नामक संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु, कलिगत ५१२३, शाके १९४४, नेपाल सं. ११४३, किरातवर्ष ५०८२, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४४, नेपालमा सूर्योदय : बिहान ०६:४८ बजे र सूर्यास्त : साँझ ०५:४९ बजे, चन्द्रास्त : बिहान ०९:४७ बजे र चन्द्रोदय : बेलुका ०९:१० बजे, फाल्गुन कृष्णपक्ष (सिल्लागा) पञ्चमी तिथि, भोलि बिहान ०५:५५ बजेसम्म, त्यसपछि षष्ठी तिथि, हस्ता नक्षत्र, बेलुका ०९:५३ बजेसम्म, त्यसपछि चित्रा नक्षत्र, चन्द्रमा कन्या राशिमा (अहोरात्र व्याप्त)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
भेटघाट र मिलनको समय हो, तथापि मानसिक उलझन र चिडचिडेपन बढ्ने दिन छ, त्यसैले बेकारका कुराकानी र ख्यालठट्टामा कन्ट्रोल गर्नुपर्छ । अवरुद्ध कार्यलाई पूरा गर्न पाउँदा अपार आनन्दको अनुभूति हुनेछ, तर स्वास्थ्यमा सामान्य प्रभाव पर्ने दिन हो, आवश्यक भए चिकित्सकको परामर्श लिनु राम्रो हुन्छ । गरेको मिहिनेतले सार्थक परिणाम प्राप्त हुनेछ, साथै प्रभाव र प्रभुत्व बढ्ने समय छ । तर हडबड र शीघ्रता शत्रु बन्नसक्छन् ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
पारिवारिक वातावरण सुखमय रहनुका साथै पतिपत्नीका बीचमा राम्रो समझदारी कायम हुनेछ । छोराछोरीको खुसीका निमित्त केही काम लुकाएर गर्नुपर्ने हुन्छ । परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ता आदिको तैयारीमा हुनुहुन्छ भने अझ कस्सिएर प्रयास गर्नुहोला, मिहिनेत अनुसार राम्रो रिजल्ट निकाल्न सकिने छ । अनुभव वा ज्ञानको कमीलाई हटाउन सकिने छ, आर्थिक शुभताको विशेष समाचार प्राप्त हुनेछ । केही समय घरपरिवार र सन्ततिको जिम्मेबारीमा बित्नसक्छ । सम्झौता वा करार गर्न अनुकूल समय छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
मन हलुका र शरीर स्वस्थ भएको राम्रो दिन छ, तर नियमित काम छाडेर घरपरिवार र आत्मीयजनहरूसँग दिन बिताउन सक्नुहुन्छ । लवपार्टनर र घरपरिवारका लागि समय व्यवस्थापन गर्न सके सहज हुनेछ, अपेक्षित माया, विश्वास एवं समझदारी कायम रहनेछ । घरजग्गाको खरिदबिक्री वा स्थिर प्रयोजनमा धनलगानीको समय हो, घरबाट कुनै धार्मिक वा माङ्गलिक कर्मसम्बन्धी समाचार आउने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सहयोगी र साझेदारहरूसँग राम्रो सम्बन्ध कायम हुनेछ । बिजुलीका उपकरण, खेलकुद सामाग्री र फलामसम्बद्ध निर्माणको कामबाट फाइदा लिन सकिने दिन हो । पारिवारिक जीवन र दैनिकीका दृष्टिले राम्रै दिन छ, माइतीपक्षसित भेटघाट हुने वा सम्बन्ध/सम्पर्क बढ्ने तथा सरसहयोग लिन/दिन सकिने समय हो । सहकार्यको भावना विकसित हुनेछ, पुराना साथीभाइसित भेटघाट हुने तथा पढाइ/लेखाइ र उन्नत भविष्यका बारेमा छलफल हुने समय छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मानसम्मान, इज्जत र प्रतिष्ठा बढ्ने दिन हो, तर पनि भौतिक सुख र आनन्दको चिन्ताले सताउन सक्छ । हाँके/ताकेको उपलब्धि प्राप्त हुने, तर महत्त्वाकाङ्क्षा बढिरहने परिस्थिति रहेको छ । मुखका माध्यमले नै महत्त्वपूणर् काम बन्नसक्ने राम्रो समय छ, सिनियर कर्मचारी वा वरिष्ठ कर्मचारीलाई खुसी पारेर आफ्नो स्वार्थ पूरा गर्न सकिन्छ । सकेसम्म समुचित कार्यका लागि कम बोलेको ठीक हुन्छ, तर बोल्न नपाए पनि हाउभाउ र सङ्केतका आधारमा काम निकाल्न सकिने छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
अध्ययनप्रतिको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ, प्रतिस्पर्द्धामा जीत हुनेछ, विगतका कमीकमजोरीमा सुधार गरी प्रयत्न गरेको काममा सफल भइने छ । पार्टनरको इच्छा र भावना बुझ्न सकेमा उत्साह बढ्न गई मन चङ्गा हुने दिन छ, रूप सौन्दर्य र व्यक्तित्वमा निखार आउने छ । आत्मविश्वास र मनोबल बढ्ने समय हो, तर प्रतियोगी वा प्रतिद्वन्द्वीका कारण केही चुनौतीहरू थपिन सक्छन् । अहिलेको संघर्ष र मिहिनेतले निकट भविष्यमा राम्रो नतिजा प्रदान गर्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
धनमालको सुरक्षाका लागि सतर्कता अपनाउने समय हो, अझ घरबाहिर निस्कने काम छ भने तालसाँचो बलियो बनाउनुका साथै बहुमूल्य गरगहना नलगाएको जाती हुन्छ । एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज कार्यशैलीमा परिवर्तन गरी नयाँ कुरो सिक्ने इच्छा जाग्नेछ । बजेटलाई सन्तुलनमा राख्ने प्रयास गर्नुपर्छ, कुनै योजनामा लगानी गर्ने मनस्थितिमा हुनुहुन्छ भने त्यसका सबल र दुर्बल पक्षमा पनि चिन्तन गर्नुहोला, नसोचिकन काम गरेमा षड्यन्त्रको खाडलमा पनि पर्न सकिन्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
एकअर्काका भावना बुझेर चल्नुपर्ने दिन हो, सहकर्मी वा सहपाठीका बीचमा प्रेम सम्बन्ध रहेको छ भने आजको दिन विशेष दिन बन्नसक्छ । आफन्त वा मित्रको आगमन हुँदा अतिथि सत्कार वा आवाभगतमा केही समय बित्नसक्छ, तर भेटघाटले कुनै विशेष अवसर दिलाउन सक्छ । कारोबारमा राम्रै फड्को मार्ने समय छ, लागी परेमा रोकिएको काम बन्नेछ तर दायित्व र जिम्मेवारी भने बढिरहने समय हो ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
जीवनशैली र कार्यप्रणालीमा आएको परिवर्तनले सकारात्मक वातावरण बन्नेछ । फोन वा मेलमार्फत कुनै राम्रो समाचार पाउन सक्नुहुन्छ । नयाँ समझौता वा करारका माध्यमबाट धन बढाउन सकिने छ, जग्गाजमीन, पेट्रोलियम पदार्थ, प्लास्टिकका वस्तुहरू र सञ्चारका सामाग्रीमा लाभ हुनेछ । आपसी सम्बन्धमा नयाँ मिठास देखापर्न सक्छ, घरपरिवारले आफ्ना समस्या बुझ्ने तथा बृद्धबृद्धासमेत खुसी भएर आशीर्वाद दिने समय हो ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
भाग्यले साथ दिन समय हो, कुनै प्रदर्शन वा प्रतिस्पर्द्धामा सरिक हुँदै हुनुहुन्छ भने आज गरेको प्रयासमा सफलता र स्याबासी मिल्ने देखिन्छ । अप्ठ्यारा परिस्थितिलाई पनि सहज बनाउन सकिने तथा चुनौतीका माझमा प्रतिष्ठा कायम राख्न सकिने सुन्दर दिन छ, कार्यपद्धतिमा सुधार गरी अघि बढेमा भाग्यबल बढ्नुका साथै ठूलाबडालाई खुसी तुल्याउन सकिने छ । क्षमता प्रदर्शन गरी अरुमाथि छाप छोड्ने समय हो । कार्य सम्पादनका माध्यमबाट सिनियरलाई समेत आकर्षित तुल्याउन सकिने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
नयाँ र नौलो विषयवस्तुको जानकारी लिन सकिने दिन हो, तर जुनसुकै कुरामा हडबड र शीघ्रता हानिकारक बन्नसक्छ । स्वास्थ्यस्थिति कमजोर हुने दिन हो । खानपानमा पनि अरुचि हुनसक्छ । आफ्ना कुरा छाडी आफन्त र खासगरी जीवनसाथीको भावना बुझिदिनु, कुरा सुन्नु अनि आफू व्यवहारिक बन्नु राम्रो हुनेछ । बुद्धि र विवेकको प्रयोग गर्न नसक्दा जुनसुकै काममा झमेला आउनसक्छ, अवगाल र अपजस पाउने दिन भएकाले हरेक काममा सिनियरको मद्दत लिएको जाती हुन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
पुरानो लेनदेन वा ऋणसापटीको बोझ हट्नेछ । बाचाबन्धन वा कसम पूरा गर्नाले मनमा हलुकापन र रिल्याक्सको अनुभूति हुनेछ । प्रेमी वा प्रेयसीसँग रमाउने दिन हो । आयातनिर्यातको काम, वैदेशिक प्रयोजनको व्यवसाय, ट्राभेल एजेन्सी आदिका व्यवसायी खुशी हुने दिन हो, तर घरपरिवारको चाहनाअनुसार खर्चमा बृद्धि हुनसक्छ । हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर कुनै काम निकाल्नु छ भने प्रयास गर्ने दिन हो ।