असोज २१, सल्यान। सल्यानमा सासूको हत्या गरेको आरोपमा बुहारीलाई जिल्ला प्रहरी कार्यालय सल्यानले पक्राउ गरेको छ । गत असोज १८ गते बिहान घरभित्रै खाद्यान्न राख्ने काठको भकारोमा मृत अवस्थामा फेला परेकी सिद्धकुमाख गाउँपालिका ४ खार्पनकी ४९ वर्षीया गणेशी रोकाको हत्या गरेकी १८ वर्षीया बुहारी सर्मिला बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो ।
घरभित्रै खाद्यान्न राख्ने भकारीमा मृत भेटिँदा घटना शंकास्पद भएपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा र पोष्टर्माटम रिपोर्टमा समेत हत्या भएको खुलेपछि बुहारी शर्मिलालाई घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए । पक्राउ परेकी शर्मिलालाई जिल्ला अदालत सल्यानबाट ७ दिनको म्याद थप गरी अहिले प्रहरीको हिरासत कक्षमा राखिएको प्रनाउ कार्कीले जानकारी दिएका छन् । पोष्टमार्टम रिपोर्टमा मृतक महिलाको टाउको, छातीमा चोट लागेको मात्र नभई घाँटीमा नीलडाम देखिएको उनको भनाइ छ ।
‘शर्मिलाले गत वैशाखमा मात्र गणेशी रोकाको छोरा २१ वर्षीय अमर रोकासँग बिहे गरेकी थिइन् । पक्राउ परेपछि शर्मिलाले सासूले दैनिकजसो गाली गलौज गरेकै कारण आवेशमा आएर टाउको र छातीमा दाउरा प्रहार गरेको र सल घाँटीमा बेरेर मारेको स्वीकार गरिसकेकी छिन्,’ उनले भने, ‘आफूले मारेर कसैले थाहा नपाओस् भनेर नै खाद्यान्न राख्ने काठको भकारीमा लुकाएको समेत उनले स्वीकार गरेकी छन् । ’
१५ गतेदेखि आमा हराएको भन्दै गणेशी रोकाकी छोराछोरीले प्रहरीमा उजुरी दिएपछि खोज्दै जाँदा खाद्यान्न राख्ने भकारीमा १८ गते बिहान गन्हाउने तथा गल्न थालेको अवस्थामा शव फेला परेको र १५ गते नै शर्मिलाले सासूको हत्या गरेको प्रहरी नायब उपरीक्षक कार्कीको भनाइ छ ।
