मंसिर १, काठमाडौं । नेकपा एमालेले आगामी स्थानीय तह निर्वाचनको तयारी र पार्टी संगठनलाई परिचालन गर्ने विषयलाई प्राथमिकतामा राखेर राष्ट्रिय भेला गर्ने भएको छ ।मंगलबार बसेको पार्टी स्थायी कमिटीको दोस्रो बैठकले राष्ट्रिय भेलाको तयारी तथा समसामयिक राजनीतिक विषयमा छलफल गरेको पार्टीका उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

बैठकले केन्द्रीय कमिटीको बैठक आगामी ४ गते बस्ने निर्णय गरेको पनि उनले बताए ।
भट्टका अनुसार आगामी बुधबार र बिहीबार हुने राष्ट्रिय भेलामा पार्टी अध्यक्षले वर्तमान राष्ट्रिय राजनीति, भावी कार्यदिशा र पार्टीले गर्नुपर्ने कामका विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् । त्यस्तै, वरिष्ठ नेताले समसामयिक राष्ट्रिय राजनीति र पार्टीका विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।
उपाध्यक्ष रामबहादुर थापाले कम्युनिस्ट आन्दोलन र संसदीय संघर्षका विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् भने एमालेको कार्यकालमा भएका विकास निर्माणका कामको तथ्यांकसहितको प्रस्तुति उपाध्यक्ष विष्णु पौडेलले गर्नेछन् । पार्टी शुद्धीकरण र सुदृढीकरणका विषयमा महासचिवले कार्यपत्र प्रस्तुत गर्ने निर्णय भएको भट्टले बताए ।
उनले राष्ट्रिय भेलाको मुख्य विषय स्थानीय निर्वाचनको तयारी र पार्टी संगठन परिचालन रहने बताए ।‘स्थानीय आउने स्थानीय निर्वाचनको तयारी र पार्टी संगठनलाई कसरी परिचालित गर्ने भन्ने विषय नै छलफल भयो । आजको यो बैठकले यिनै विषयमा समसामयिक छलफल गर्यो,’ उनले भने ।
राष्ट्रिय भेलाको तयारीबारे संगठन विभाग प्रमुख तथा केन्द्रीय सचिव भानुभक्त ढकालले बैठकमा जानकारी गराएको पनि भट्टले बताए ।उनले स्थानीय निर्वाचनमा कसरी जान सकिन्छ भन्ने विषयमा भेलाबाट सुझाव लिइने जानकारी दिए ।
‘भोलिको विशेष गरी यो भेला किन केन्द्रित भएको छ भने स्थानीय आउने स्थानीय निर्वाचनको तयारी र पार्टी संगठनलाई कसरी परिचालित गर्ने भन्ने विषय नै यसको महत्वपूर्ण पाटो हो । तल स्थानीय निर्वाचनमा कसरी जान सकिन्छ सुझाव लिने कुरा हुन्छ,’ उनले भने ।
पार्टी पुनर्गठनको विषय भने राष्ट्रिय भेलामा नउठ्ने भट्टले स्पष्ट पारे ।
‘पुनर्गठनका विषयमा त पहिले नै केन्द्रीय समितिले टुंग्याइसकेको विषय भएकोले त्यहाँ त्यो विषय उठ्दैन,’ उनले भने ।