माघ २३, काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का उपमहासचिव एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धनलाई टिकाइराख्न जरुरी रहेको बताएका छन् । आज रफ्त सञ्चार क्लबले भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले राष्ट्रपति निर्वाचन सम्पन्न गर्न र मुलुकमा देखा परेका राजनीतिक अस्थिरता र अन्योललाई हटाएर अघि बढ्न पनि सत्तारुढ गठबन्धन टिकाउन जरुरी रहेको बताए ।

उनले गत पुस १० गते भएको सहमतिलाई कार्यान्वयन गर्न सत्तारुढ दलहरु दृढतापूर्वक उभिनुपर्ने पनि बताए । उनले कांग्रेसले प्रतिपक्ष हुन पाउनका लागि निवेदन दिने अनि सत्ताको महत्वपूर्ण अंगहरुमा हिस्सेदार खोज्ने दोहोरो चरित्र देखाउन नहुने जिकीरसमेत गरे ।
“लोकतन्त्रको एउटा बलियो पक्ष भनेको एउटा सशक्त प्रतिपक्ष हो । सशक्त प्रतिपक्षको अभावमा लोकतन्त्र कमजोर हुन्छ । नियन्त्रण र सन्तुलन खल्बलिन्छ । तर, सत्ताबाट हट्नुपरेको डेढ महिनामै त्यो ढंगको छटपटी जुन देखिएको छ,” उनले भने, “त्यो कतै पनि राम्रो कुरा हो भन्ने मलाई लाग्दैन । त्यसो भएर अहिले सत्ता गठबन्धनलाई टिकाइराख्ने, त्यही हिसाबले राष्ट्रपति निर्वाचन सम्पन्न गर्ने र अहिले देखा परेका राजनीतिक अस्थिरता र अन्योलहरु हटाएर अगाडि बढ्न जरुरी छ ।”