साउन १८ , चितवन । लगातारको वर्षापछि मुग्लिन–नारायणगढ सडकखण्डका तीन स्थानमा ढुंगा र लेदो खस्दा सडक एकतर्फी रूपमा सञ्चालनमा आएको छ । सडक डिभिजन भरतपुरका अनुसार तुइन खोलाको पुल, नाम्सी खोलाको नयाँ पुल र सिमलताल क्षेत्रमा पहिरोका कारण सवारी आवागमन प्रभावित भएको हो ।

डिभिजनका अनुसार तुइन खोला पुल र नाम्सी खोलाको नयाँ पुलमा माथिबाट ढुंगा खसेको छ भने सिमलताल क्षेत्रमा माथिबाट बगेको लेदो सडकमा थुप्रिएपछि सडक एकतर्फी मात्र सञ्चालन गर्नुपरेको हो ।
पहिरो हटाउन सडक डिभिजनले आवश्यक डोजर तथा अन्य उपकरण परिचालन गरिसकेको जनाएको छ । थप पहिरो नझरेको अवस्थामा करिब एक घण्टाभित्र सडक दुवैतर्फी सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।
सडक डिभिजनले वर्षा अझै जारी रहेकाले पहिरोको जोखिम कायम रहेको जनाएको छ । त्यसैले यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र सुरक्षित रूपमा यात्रा गर्न सबै सवारी चालक तथा यात्रुलाई अनुरोध गरेको छ।