• २०८३ असार ६ गते शनिवार

सन्तोषीमाताको दर्शन गरि दिनको सुरुवात गर्नुहोस

खबर२४ नेपाल पढ्न लाग्ने समय : ६ मिनेट

वि.सं. २०७९ आश्विन १४ गते शुक्रवार तदनुसार ई. सं. २०२२ सेप्टेम्बर ३० तारिख, नल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२३, शाके १९४४, नेपाल सं. ११४२, किरातवर्ष ५०८२, मञ्जुश्री वर्ष २८५८, हिजरी सं. १४४४, नेपालमा सूर्योदय : बिहान ०५:५५ बजे र सूर्यास्त : साँझ ०५:५० बजे, चन्द्रोदय : बिहान ०९:१७ बजे र चन्द्रास्त : बेलुका ०८:५५ बजे, आश्विन शुक्ल (दुर्गा) पक्ष (कौलाथ्व) पञ्चमी तिथि, बेलुका १०:३९ बजेसम्म, त्यसपछि षष्ठी तिथि, विशाखा नक्षत्र, बिहान ०६:३५ बजेसम्म, त्यसपछि अनुराधा नक्षत्र, भोलि बिहान ०५:२४ बजेसम्म, अन्तिममा ज्येष्ठा नक्षत्र (नक्षत्र टुटेको दिन) चन्द्रमा बृश्चिक राशिमा (अहोरात्र व्याप्त)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
कुनै कुरालाई लिएर वैचारिक मतभेद हुनसक्छ, आफूलाई चित्त नबुझेको कुरामा ‘हँ मा हँ’ मिलाउनुभन्दा ‘नाइँ’ पनि भन्न सक्नुपर्छ । काममा रुचि हुनेछैन, बरु रहस्य, अध्यात्म, तन्त्रमन्त्र र जादूटुनाका विषयमा रुचि बढ्न सक्छ, तर पनि नसोचेको धन हातमा आइपुग्ने दिन छ । अस्वस्थ हुनुहुन्छ भने समय निकालेर आराम गर्नु ठीक हुन्छ । खनिज पदार्थ र पुरातात्त्विक चिजबीजको व्यवसायमा फाइदा देखिन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
गृहस्थी जीवन र पारिवारिक सुखको आत्मिक अनुभूति प्राप्त हुनेछ । पतिपत्नीले एकआपसमा एउटा सुखद अनुभूति साझा गर्ने दिन हो । कला, साहित्य र अभिनयका क्षेत्रमा रुचि बढ्ने दिन हो, तथापि अहिले बाह्य विषयवस्तुमा भन्दा पनि निर्धारित पाठ्यक्रममा ध्यानकेन्द्रित गर्नुपर्ने समय हो । आनन्द र रमणीयताका लागि समय छुट्याइने छ, घुमघाम, भ्रमण र पर्यटनको मनसाय पनि बन्नसक्छ र जीवनसाथी वा प्रेयसीको भावनाको कदर गर्दै केही धनरकम मौजमज्जामा खर्च गर्ने परिस्थिति छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
कार्यक्षेत्रभन्दा बाहिरको जिम्मेबारीमा खट्नुपर्ने दिन हो, तथापि औपचारिक र अनुशासित तवरले दिन बित्नेछ, जुन सहकर्मी र स्टाफहरूलाई नौलो लाग्नसक्छ । दोधारेपन, अलमल र चिडचिडेपन हाबी हुने दिन हो, अझ पार्टनरका क्रियाकलाप वा कुनै कुराप्रति शङ्का उब्जनाले दिक्क लाग्ने समय छ । बहस र विवादमा पकड भएको समय छ, तर शत्रु एवं प्रतिस्पर्द्धी बलिया देखिन्छन् । तौलेर बोलेको ठीक हुन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सन्तान वा सहयोगी कामदारको सहयोग लिएर व्यवस्थापन पक्षको लथालिङ्गलाई मिलाउन प्रयास गरिने छ, बुद्धिकौशल तथा समझदारीले कमीकमजोरी हटाउन सकिने छ । पारिवारिक वातावरण ठीकै छ, तर छोराछोरीको इच्छा बुझेर काम गर्ने हुँदा बजेट डगमगाउने तथा पारिवारिक जीवनमा मनोमालिन्य बढ्नसक्ने समय छ । परिश्रमको प्रतिफल पाउने समय हो, परीक्षा वा प्रतियोगितामा सामेल हुनुछ भने अझ बढी मिहिनेत गर्नु ठीक हुन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आपसी तालमेल र पारिवारिक सम्बन्धलाई हरसम्भव सुदृढ बनाउन प्रयास गर्ने दिन हो, आवश्यक भएमा बन्धुवान्धव वा साथीभाइको सहयोग लिन सकिन्छ, अथवा आफन्तका निमित्त पनि समय दिनुपर्ने हुन्छ । कार्यालयीय काम सजिलै सम्पन्न हुने र सन्तुष्टि लिन सकिने दिन हो, तर आज घरपरिवार वा आफन्तको भावनालाई समेट्न सकेमा थप सन्तुष्टि मिल्नेछ । परिबन्द र बाध्यतामा खुम्चनु पर्दा मन निरस बन्नसक्छ, चाहँदाचाहँदै पनि पार्टनरको इच्छानुसार समय दिन नपाउँदा झन नरमाइलो लाग्नसक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सहकर्मीहरूको भावना बुझी काम गर्न सके पुरानो समस्या पनि हल गर्न सकिने छ, तर सामाजिक गतिविधिमा सक्रिय हुँदा काममा बाधा पुग्नसक्छ । नयाँ एवं पुराना मित्रसित भुलिनाले पार्टनरलाई समय प्रदान गर्न सकिंदैन, तर कुनै व्यक्तिगत कार्य सम्पन्न हुने दिन छ । पारिवारिक उत्थानका निम्ति कुनै महत्त्वपूणर् कार्य प्रारम्भ गर्ने मनसाय बन्नेछ, आर्थिक लगानीको समय छ, सञ्चारमाध्यमबाट शुभ सन्देश आउनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
जीवनसाथी र परिवारका सदस्यहरूबाट अपेक्षित सहयोग एवं सद्भाव मिल्नेछ, कुनै आर्थिक समस्या छ भने प्रयास गरेमा हल हुने समय हो । परीक्षा वा प्रतियोगिताका दृष्टिकोणले अनुकूल दिन छ । कुनै नौलो विषयको जानकारी लिएमा भविष्यमा राम्रो उपलब्धि लिन सकिने छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने दिन हो, सेयरमा रुचि छ भने अनुभवीको राय लिएर लगानी गर्न सक्नुहुन्छ, साथै स्थिर प्रयोजनको धनमा समेत लगानी बढाउने दिन हो ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
व्यक्तिगत उन्नति र प्रगतिको समाचारले मन प्रसन्न हुनेछ, अझ पार्टनरबाट शुभकामना प्राप्त गर्नाले थप सन्तुष्टि र आनन्दको अनुभूति हुनेछ । इच्छा पूरा हुने दिन हो, विशिष्ट व्यक्तित्व वा विद्वान् गुरुसित मित्रता र भेटघाट हुने समय हो । घरमा अभिभावकसित सम्पर्क गरी भलाकुसारी गरेको जाती हुन्छ । आम्दानी बढ्नेछ । कुनै प्रशासनिक वा व्यवस्थापकीय कार्यका लागि अनुकूल समय छ । तामा र रातो चिजबीजमा फाइदा देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
वैराग्य र निराशाका भाव मँडारिन सक्छन्, तर आज कुनै फाइदा हुने क्षेत्रमा आकर्षण छ वा स्थान परिवर्तन गर्ने मुडमा हुनुहुन्छ भने काम थाल्नुहोस्, लाभ हुनेछ । हिसाबकिताब र लेनदेनमा सतर्कता अपनाउनु होला, गल्ला र सेफको सुरक्षामा समेत ध्यान दिनुपर्छ । नयाँ लगानी हो भने सोचेर कदम चाल्नुहोला । खर्चमा बृद्धि हुनाले बजेट डगमगाउने समय हो, आर्थिक तनावले पतिपत्नीका बीचमा सुलह नहुने गरी विवाद चुलिन सक्छ, सचेत भएर व्यवहार गर्नुहोला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
कमीकमजोरी र असफलताहरू पन्छाउँदै क्षमताअनुरूप परिश्रम गर्नुहोस्, लक्ष्यप्रति केन्द्रित भएर लागी परेमा ठूलो सफलता पाउने दिन हो । घरमा अभिभावकवर्ग तथा कार्यक्षेत्रमा सिनियर्सका तुलनामा जुनियर्स वा भाइबहिनीको सहायता पाउन सकिने दिन हो । अझ राजनीति वा समाजसेवा नै कार्यक्षेत्र हो भने नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ । शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ । आँट र हिम्मतले काम लिन सकेमा मनग्ये फाइदा हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
कुनै नयाँ विषयवस्तु वा प्राविधिक ज्ञानले आकर्षण गरेको समय छ, परिश्रम गर्ने छात्रछात्राले उत्कृष्ट परिणाम प्राप्त गर्नेछन् । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । नयाँ व्यवसाय वा रोजगारीका बारेमा चिन्तन गर्न सकिने छ । मिहिनेत गरेर बिग्रँदो आयस्रोतलाई उकास्न प्रयास गर्ने समय छ । उच्चपदस्थ र महत्त्वपूणर् व्यक्तिहरूसित मित्रता हुनेछ, कुनै पुरस्कार वा सम्मान पाउन सक्नुहुन्छ अथवा कुनै दूरगामी योजनाको कार्यान्वयन गर्ने विषयमा छलफल हुनसक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सहयोगको भावना पलाउने दिन हो, कुनै महत्त्वपूणर् काममा कसैको सहयोग गर्नुपर्ने वा परोपकारी काममा लगानी गर्ने परिस्थिति बन्नेछ । साझेदारीको कामबाट फाइदा हुनेछ । धार्मिक र आध्यात्मिक चेतना बढ्नेछ, इमानजमानको ख्याल राख्नु तथा नियमकानूनको पालना गर्नु उचित हुनेछ । आफन्त वा छरछिमेकको काममा खट्नुपर्ने समय छ, घरव्यवहारकै काममा पनि व्यस्तता रहनेछ, आज बहुप्रतीक्षित अभिलाषा र इच्छाको पूर्ति हुने दिन हो ।

Sharing

प्रतिक्रिया दिनुहोस