जेठ १४, काठमाडौँ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालगञ्जस्थित भेरी अस्पतालका चिकित्सक र नर्सहरूमाथि साङ्घातिक हमला गर्नेमाथि कानुनी कारबाही गर्न माग गर्नुभएको छ ।
सामाजिक सञ्जाल मार्फत अध्यक्ष प्रचण्डले डाक्टर र नर्सहरूमाथि भएको कुटपिट जस्तो अमानवीय व्यवहारप्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको भन्दै घटनाप्रति खेद प्रकट गर्नुभयो ।‘नेपालगञ्जस्थित भेरी अस्पतालमा डाक्टर र नर्सहरूमाथि भएको कुटपिट जस्तो अमानवीय व्यवहारप्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ र खेद प्रकट गर्दछु । हाम्रो पार्टीले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा आफ्नो स्वास्थ्यलाई ख्याल नगरि अहोरात्र खटिएका स्वास्थ्यकर्मी माथि नै साङ्घातिक हमला गर्ने जो कोहीलाई पनि कानुनी कारबाही गरियोस् भनि माग पनि गर्दछ ।’
भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको आरोपमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।