असार १५, काठमाडौं । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले धान रोपेर आज धान दिवस मनाएको छ। कार्यक्रम ललितपुर बुङमतीको फर्सीडोलमा नेकपा एमालेका महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यमा आयोजना गरिएको हो ।
महासचिव पोखरेलले नेपाल कृषि प्रधान देश भएकाले नेपाली अधिकांशको पेशा खेतीपाती रहि आएको र किसानहरु वर्षभरका लागि छाक जुटाउन यो महिना आफ्नो खेतको हिलोमा धान रोप्न व्यस्त रहने बताउनु भयो ।
उहाँले नेपालमा धान दिवसका दिन सस्तो लोकप्रियताका लागि हिलोमा चुबलिने संस्कार बसे पनि व्यावसायिक किसिमले खेती गर्ने परम्परा र संस्कार भने घट्दै जान थालेको बताउनु भयो । अब युवाहरुले व्यावसायिक किसिमले खेती गरेर देशमा खाद्यान्न आयात भन्दा निर्यात बढाउनु पर्ने बताउनु भयो।