• २०८३ जेष्ठ ३१ गते आइतवार

सन्तोषीमाताको दर्शन गरि दिनको सुरुवात गर्नुहोस

खबर२४ नेपाल पढ्न लाग्ने समय : ६ मिनेट

वि.सं. २०७९ कार्तिक ११ गते शुक्रवार तदनुसार ई. सं. २०२२ अक्टोबर २८ तारिख, नल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२३, शाके १९४४, नेपाल सं. ११४३, किरातवर्ष ५०८२, मञ्जुश्री वर्ष २८५८, हिजरी सं. १४४४, नेपालमा सूर्योदय : बिहान ०६:१२ बजे र सूर्यास्त : साँझ ०५:२१ बजे. चन्द्रोदय : बिहान ०८:१३ बजे र चन्द्रास्त : बेलुका ०७:१९ बजे. कार्तिक शुक्लपक्ष (कछलाथ्व) तृतीया तिथि, दिउँसो १२:३० बजेसम्म, त्यसपछि चतुर्थी तिथि, अनुराधा नक्षत्र, दिउँसो ०१:२८ बजेसम्म, त्यसपछि ज्येष्ठा नक्षत्र, चन्द्रमा बृश्चिक राशिमा (अहोरात्र व्याप्त)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
चित्त व्याकुल हुनुका साथै गुनासो र गनगन बढ्ने दिन हो, तेस्रो व्यक्तिको प्रवेशले आपसी सम्बन्धमा समेत कमजोरी देखा पर्नसक्छ । मनमा अनावश्यक शङ्का र भ्रमको निवास हुने तथा कलहको योग बनेको समय छ, आफैंभित्रका शत्रुलाई चिनेर व्यवहार गर्नु राम्रो हुन्छ । करियर वा कामधाममा कुनै किसिमको बाधा देखिएको छ भने तनाव लिनुको सट्टा कामको गुणस्तर सुधारका लागि प्रयास गर्नु राम्रो हुन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आन्तरिक तिर्सनाको परिपूर्ति हुने दिन हो । पतिपत्नीका बीचमा समझदारी बढ्नेछ । आज कुनै भनुँ भनुँ लागेको कुरा बताउने दिन हो । सुख/सुविधाप्रतिको मोह बढ्नेछ, मन कल्पना र भावनामा रुमल्लिन सक्छ । अल्छी नगरी पढाइमा ध्यान दिएमा राम्रो उपलब्धि पाइने छ । कार्यक्षेत्रमा उच्च सफलता मिल्नुका साथै कल्पना र भावना केन्द्रित हुने तथा आत्मरतिमा भुलिने समय छ, तर अहिले जुनसुकै कुरामा अरुले के भन्दैछन् भनी चासो दिनु राम्रो हुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
गल्ती र कमजोरीलाई माध्यम बनाएर प्रतिद्वन्द्वीले होच्याउने र खिसिट्युरी गर्ने परिस्थिति भएकाले काम गर्दा गल्ती हुन्छ कि भनी चनाखो हुनुपर्छ । अर्काका कुरा सुनेर पार्टनरको जीवनचर्या र व्यवहारमा शङ्का नगर्नु होला, बरु लोङ टुरको कुनै कार्यक्रममा सँगै जाने वातावरण बनाउनु ठीक हुन्छ । सज्जन, विद्वान् र भद्रभलादमीको सङ्गत हुने राम्रो दिन छ । आज न्यायसम्पादन, प्रशासनिक क्षेत्र र राजनैतिक वृत्तका काम अघि सार्ने समय हो ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आत्मविश्वासमा बृद्धि हुनाले थप सफलता प्राप्त हुनेछ । शिक्षाक्षेत्र, आर्थिक कारोबार, सुनचाँदी जस्ता गहनागुरियाका व्यापारीका लागि राम्रो दिन देखिन्छ । मन कल्पना र भावनामा अलमलिन सक्छ । हरेक समय आत्मिक आनन्द र मानसिक शान्तिका लागि प्रयास गर्ने समय हो । अलि धेरै मिहिनेत गर्नुपर्ने समय हो, किनभने आजको प्रयासले भविष्यका लागि स्कलरसीप, सहुलियत वा विशेष अवसर प्राप्त हुनसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आक्रामक व्यवहारका कारण आफन्त वा शुभचिन्तकमा गलत प्रभाव पर्नसक्छ, मित्रहरूद्वारा समेत तपाईंको क्रियाकलापको आलोचना हुनसक्छ । त्यसैले क्रोध र उद्वेगमा नियन्त्रण गर्दै व्यवहारिक र अनुशासित छवि प्रस्तुत गर्नुहोला । सिनियर कर्मचारीको आदेशलाई बेवास्ता गर्नु हुँदैन । थकानको अनुभूति हुने अथवा घरायसी विषय वा प्रेमसम्बन्धको तनावले कार्यक्षेत्रमा प्रभाव पर्नसक्ने दिन हो । लवलाइफ र रोमान्टिक जीवनमा केही असहजता वा बाधा आइलाग्ने समय हो, तथापि घरपरिवार र सँगीसाथीको साथ पाउनाले मन प्रसन्न रहने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
कुनै पुरानो समस्या वा कारबाहीमा ध्यान केन्द्रित हुनसक्छ, त्यसैले नबुझेको विषय छ भने सहकर्मीको मद्दत लिएमा समस्या हल गर्न सजिलो हुनेछ । जुन कुराले मनमा उत्साह बढ्छ त्यही कार्य गरे मन प्रसन्न रहनेछ, तर सँगीसाथीसँग रमाउन खोज्दा आपसी समन्वय बिग्रन सक्छ, सचेत हुनुपर्छ । पारिवारिक सुखको पूणर् अनुभूति हुने दिन हो । तपाईंको इच्छाको कदर हुने समय छ । हरेक क्रियाकलापमा जीवनसाथी, सन्तान र मित्रवर्गको साथ/सहयोग प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
कुरा काट्ने र खिसीट्युरी गर्नेको कमी हुनेछैन, चेलीबेटीको चित्त बुझाउन धौधौ हुनेछ, तर पनि घरपरिवारका सदस्यहरूसँग सुमधुर सम्बन्ध कायम हुनेछ । अभिव्यक्ति कौशलमा निखार आउने छ, अध्ययनप्रतिको लगावले व्यक्तित्व विकासको सुअवसर मिल्नेछ, आजको मिहिनेतले प्रतिस्पर्द्धाको दौडमा अग्रणी हुन सकिने छ । आफ्नो शब्द र वचनले कसैको मन नदुखोस् भन्ने कुरामा ख्याल राख्ने समय हो, किनकि राम्रो वचनको मूल्य धेरै हुन्छ, तर दुर्वचन मूल्यहीन हुन्छ, तर यसबाट अमूल्य सम्बन्धमा आघात पुग्नसक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
घुमघाममा जाने वा मस्ती गर्ने योजना बनाउन सक्नुहुन्छ । तर जिद र हठलाई त्याग्नु होला, नत्र ससाना कुरामा विवाद हुनसक्छ । गम्भीर स्वभावको उदय हुने समय छ । एक्लै बस्न र रमाउन मनपर्छ । पारिवारिक जीवन सुखद हुनेछैन । आशावादी हुनु निराशावादी हुनुभन्दा राम्रो हुन्छ । कार्यस्थल र घरपरिवारमा खुसी र उमङ्गको वातारवरण रहेको छ । आर्थिक मन्दी चल्दैछ भने नयाँ रणनीति कार्यान्वयन गर्नुहोस्, सफलता पाउन सक्नुहुन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
अल्छीलाग्दो समय छ, तर पनि आज अकर्मण्य र लक्ष्यहीन बन्नु हुँदैन, नत्र सामान्य गल्तीले पनि ठूलो नोक्सानी व्यहोर्ने परिस्थिति बन्नेछ । लगानी गर्दा जोखिम र सङ्कटका बारेमा चिन्तन गर्नुहोला, व्यवसाय तर्फ मार्केटिङ, यातायात व्यवसायी र ढुवानीको क्षेत्रमा लाभ लिन सक्नुहुन्छ । तालमेलमा केही कमी रहने दिन हो । सकेसम्म हरेक व्यवहारमा ठूलाबडाको मर्यादा र सम्मानप्रति सचेतता अपनाउनु आवश्यक देखिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
दाजुभाइ र बन्धुबान्धवका बीचमा उन्नति/प्रगतिको चर्चा हुनेछ, तपाईंको परिश्रमको प्रशंसा हुने वा कमजोरीको विश्लेषण गर्दै सुझाव प्राप्त हुने समय छ । दाजुभाइको सरसहयोगमा केही समय बिताउनुपर्ने हुन्छ, त्यस्तै परिवारजनको आवश्यकता वा छोराछोरीको उन्नतिप्रगतिका निमित्त पनि खट्नुपर्ने समय छ । राज्यपक्ष वा प्रशासनिक कामका साथै प्रतिष्ठा जोडिएको काममा सफलता मिल्नेछ । वरिपरि शत्रुको चंगुल हुनसक्छ, तर मिहिनेत र कर्मको सुनिश्चित सफलता प्राप्तिको समय हो, अरुका कुरामा नभुलिनु होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
भाग्य भरोसामा रहने होइन, स्वयं आफूलाई विश्वास गर्ने समय हो, परीक्षाको तैयारी गर्दै हुनुहुन्छ भने उत्तम परिणाम प्राप्त हुनेछ । कर्तव्यप्रति सचेत हुने तथा जिम्मेबारी बोध हुने राम्रो दिन छ, सरकारी कामका माध्यमबाट लाभ लिन सकिने छ, अझ समाजसेवा वा राजनीति नै कार्यक्षेत्र हो भने मानसम्मान पाउन सक्नुहुन्छ । सिनियर स्टाफलाई रिझाउन सकिने छ । व्यक्तित्व विकासको योजना बनाउने र पदोन्नति वा थप अध्ययनका लागि प्रयास गर्ने दिन हो ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
परहीत र सामाजिक काममा दौडधूप हुनसक्छ । सेवाभावना र धार्मिक स्वभावको उदय हुनेछ । भोगविलास र सांसारिकताप्रतिको मोह घट्न सक्छ । धार्मिक/सामाजिक काममा समय दिनुपर्दा बाहिर अलमलिने दिन हो, तर पनि आफ्नो कामप्रतिको लगनशीलताका कारण कारोबारमा कुनै प्रभाव पर्नेछैन । फूर्तिका साथ जिम्मेबारी र दायित्व पूरा गर्ने दिन हो, सहयोगी र मिलनसार स्वभावको विकास हुनेछ । मान्यजनबाट प्रशंसा र सहानुभूति बटुल्न सक्नुहुन्छ ।

Sharing

प्रतिक्रिया दिनुहोस