जेठ १४, काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाको सांसद नविना लामाले वर्तमान पाँच दलीय परमादेशको सरकारको नीति तथा कार्यक्रमहरु हावादारी गफ र झुटको पुलिन्दा मात्र भएको बताउनुभएको छ । नीति तथा कार्यक्रमको छलफलमा बोल्दै सांसद लामाले सरकारले ल्याएको नीति तथा कार्यक्रममा मुलुकको आर्थिक संकट कसरी समाधान गर्ने भन्ने उल्लेख नगरेको भन्दै आक्रोस जनाउनुभयो ।

गठबन्धनको सरकार देश र जनता प्रति गैरजिम्मेवार रहेको सरकारको नीति तथा कार्यक्रमबाट नै प्रष्ट बताउनुभयो । देशको अर्थतन्त्र टाट पल्टन जोगाउने विषयमा नीति तथा कार्यक्रम मौन रहेको उल्लेख गर्दै उहाँले रोजगारी बढाउने विषयमा योजना नै नभएको बताउनुभयो । साहसीक योजना नभए मुलुक परिवर्तन सम्भव नभएको उल्लेख गर्दै उहाँले केही न केही जोखिन नमोलि परिवर्तन सम्भव नहुने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘विगत ९ महिनादेखी ऋण समेत दिन छोडेको, कर्जा नपाएका कारण व्यवसायीहरु पलायन हुने अवस्था बनेको तर सरकारको नीति तथा कार्यक्रममा देशको अर्थव्यवस्था राम्रो रहेको भनि जनतालाई ढाँट्ने र झुटा आश्वासन दिने मात्र भएको छ । मूल्यवृद्धि अत्याधिक भइरहँदा पनि सरकार मौन रहेको छ । जनताले सहने सीमा प्रति सचेत रहन सरकारलाई आग्रह गर्दछु । श्रीलंकामा नेताको घरमा बत्ती बलिरहेको देखेपछि जनताले नेताको घर नै जलाई दिएको घटना स्मरण गराउँदै नेपालमा पनि यस्तो अवस्था आउन सक्नेप्रति सचेत हुनुपर्छ । मलका विषयमा किसानलाई झुक्याउने तथा गफलाई प्राथमिकता दिएको छ ।’
खाद्य सुरक्षामा ग्यारेन्टी गर्ने भनि विश्लेषण गरिएता पनि बजारमा मूल्यवृद्धि आकासिएको मात्र नभई भारतले चिनीलगायतका केही वस्तुहरुमा प्रतिवन्ध लगाई सकेको जानकारी गराउँदै उहाँले मुलुकमा खाद्य संकट आउने अवस्थालाई समयमा नै रोक्न सरकार मैन रहेको आरोप लगाउनुभयो । ‘किसनालाई मल त उपलब्ध गराउन नसक्ने सरकारले कसरी कृषिलाई आधुनिकीकरण तथा उत्पादनको वृद्धि र बजार विस्तार गर्न सक्छ ?’ उहाँले भन्नुभयो, ‘सरकारी कार्यालयमा प्रयोग हुने फर्निचर, कर्मचारीको पोशाक नेपाली नै हुनुपर्छ भन्ने जस्ता कुराहरु गर्न सरकार किन डराउँछ ? हाम्रो जंगलमा काठ कुहिएर गएको छ तर नेपालमा प्रयोग हुने फर्निचर मलेसिया तथा चिन बाट मगाउनुपर्ने अवस्था रहेको छ । यस्तो अवस्था तोड्नुपर्छ, तोड्न सक्नुपर्छ ।’
युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न सरकारले कुनै पनि योजना नल्याउनको उल्लेख गर्दै उहाँले केपी ओली नेतृत्वको सरकारले ल्याएको शैक्षिक प्रमाणपत्रको आधारमा युवाले ऋण पाउने व्यवस्था कहाँ गायब भयो ? भनि प्रश्न गर्नुभयो । शिक्षा क्षेत्र दलाल, माफियाहरुको चंगोलमा फस्दै गएकाले शिक्षा क्षेत्रमा कम्तिमा २० प्रतिशत बजेट व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । सुशासन र पारदर्शी बनाउन वर्तमान सरकार चुकेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘सुशासन र पारदर्शी बनाउन सर्वप्रथम सरकारका मन्त्रीहरुको सम्पत्ती सार्वजनिक गर्न हिम्मत छ ? हरेक सरकारले गर्दै आएको मन्त्रीको सम्पत्ती यो सरकारले किन सार्वजनिक गरेन ? यसको कारण के हो ?’
महिला हिंसा तथा बलात्कार जस्ता गंभिर अपराधिक घटनाको बारेमा सरकारले नीति तथा कार्यक्रममा कुनै पनि योजना समावेश गर्न नसक्नु दुःखद भएको भन्दै उहाँले यस्तै प्रकारले बलात्कारको घटनाहरु बढ्दै गएमा बलात्कारी मुलुक भनेर चिनिने भन्दै समयमा नै सरकारले उक्त कार्यहरुलाई नियन्त्रण गर्ने प्रकारको योजना ल्याउनुपर्नेमा जोड दिनुभयो ।सांसद लामाले सेयर बजार घटेको सरकारले नदेखेको आरोप लगाउनुभएको छ । सेयर बजारका लागि नीति तथा कार्यक्रम केही योजना नआएको उल्लेख गर्दै उहाँले एमालेको सरकारको पालामा ३२ सय अंकमा रहेको सेयर बजार २२ सय अंकमा झर्दापनि अहिलेको सरकारले नदेखेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अर्थमन्त्रीको रूपमा विष्णु पौडेल रहेको बेला सेयर बजार ३२ सय अंकमा थियो । तर यो सरकार बनेपछि २२ सय अंकमा झरेको छ । तर पनि नीति तथा कार्यक्रममा सेयर बजारको विषयमा केही योजना आएन ।’