• २०८३ बैशाख ४ गते शुक्रवार

कांग्रेसमा तालमेल बहस : भरपर्दो संयन्त्र बनाउन सुझाव

पत्रपत्रिका पढ्न लाग्ने समय : ४ मिनेट

चैत १४, काठमाडौं । कांग्रेसभित्र स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन दलबीच चुनावी तालमेल गर्ने मत बलियो भए पनि त्यसको संयन्त्रबारे प्रश्न उठेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच तालमेलका लागि स्थानीय तहसम्म संयन्त्र बनाउन छलफल भइरहेका बेला केन्द्रीय कार्यसमिति बैठकमा यस्तो प्रश्न उठेको हो ।

चुनावी अभियानमा जिल्ला पुगेर आएका नेताहरूले केन्द्रीय कार्यसमितिको जारी बैठकमा पार्टीभित्र एकता र विश्वासको वातावरण मिलाएर तालमेल गर्नुपर्ने बताएका छन् । तालमेल भए साझा उम्मेदवारलाई गठबन्धनको मतदान हुने गरी संयन्त्र बनाउन भने कठिन हुनसक्ने उनीहरूको राय छ । आइतबारको बैठकमा बोल्ने ५४ जना केन्द्रीय सदस्यमध्ये धेरैले चुनावी समीकरणको पक्षमा धारणा राखेका छन् । उनीहरूको भनाइ छ, ‘तालमेल त गर्ने हो तर गठबन्धनको भोट सहजै साटफेर गर्ने संयन्त्र कसरी निर्माण गर्ने ?’

एनपी साउदले मतदाताको भोट अर्को दललाई ‘ट्रान्सफर’ गर्ने संयन्त्र भरपर्दो बनाउनुपर्ने बताए । ‘सत्तारूढ दलबीच तालमेल भएमा चुनाव जित्न सहज हुने भन्दै कार्यकर्तामा उत्साह देखिएको छ,’ उनले भने, ‘तर गठबन्धनलाई सुदृढ बनाएर विश्वासको वातावरण निर्माण गर्न सकिएन भने नसोचेको परिणाम आउन सक्छ ।’ एमालेले तीनै तहमा तीन वर्षसम्म एकलौटी शासन चलाउँदा बनाएको प्रशासनिक ‘सेटअप’ कायमै रहेकाले निर्वाचनमा संसाधनको दुरुपयोग हुनेतर्फ सचेत हुनुपर्ने उनले बताए ।

कांग्रेस र माओवादी केन्द्रबीच सरकारमा पटक–पटक समीकरण भए पनि निर्वाचनमा व्यवस्थित तवरले गठबन्धन भएको छैन । ०७४ को स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता भइसकेपछि काठमाडौं, ललितपुर, भरतपुर र पोखरामा तालमेल प्रयास भए पनि सफल हुन सकेको थिएन । काठमाडौं, ललितपुर र पोखरामा माओवादीले कांग्रेसलाई र भरतपुरमा कांग्रेसले माओवादीलाई सहयोग गर्ने सहमति भएको थियो । सहमतिअनुसार भरतपुरमा कांग्रेसबाट नगर प्रमुखमा उम्मेदवारी दिएका दिनेश कोइरालाले माओवादीकी रेणु दाहाललाई र पोखरामा माओवादीका विश्वमणि लामिछानेले कांग्रेसका रामजी कुँवरलाई समर्थन गरेका थिए । गठबन्धन प्रभावकारी नहुँदा पोखरा महानगर प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी भएका थिए । भरतपुरमा माओवादी केन्द्रकी दाहाल एमालेका देवी ज्ञवालीसँग २ सय ३ मतको झिनो अन्तरले विजयी भइन् । उपप्रमुखमा भने कांग्रेसकी पार्वती शाहले एमालेकी दिव्य शर्मालाई ७ हजार ६ सय ७२ मतान्तरले हराइन् । काठमाडौंमा कांग्रेसलाई समर्थन गर्ने सहमति भए पनि उम्मेदवारी फिर्ता नलिएका माओवादी केन्द्रका सर्वोत्तम डंगोलले ७ हजार ८ सय ६ मत ल्याएका थिए । बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले विगतको अवस्था आउन नदिन समयमै तालमेल कसिलो पार्ने संयन्त्र बनाउनुपर्ने बताए ।

गत स्थानीय तह निर्वाचनमा तालमेल गर्नका लागि कांग्रेसका रामशरण महत र ज्ञानेन्द्रबहादुर कार्की तथा माओवादी केन्द्रबाट कृष्णबहादुर महरा र वर्षमान पुन रहेको कार्यदल थियो । यसपटक भने सत्ताघटकले केन्द्रीयस्तरमा गठबन्धनको सैद्धान्तिक सहमति गरी कार्यान्वयनको तयारी गरिरहेका छन् । कांग्रेसका एक पदाधिकारीले जारी केन्द्रीय कार्यसमिति बैठकबाट चुनावी गठबन्धनको निर्णय गर्ने बताए । पार्टीभित्र सभापति शेरबहादुर देउवाका प्रमुख प्रतिस्पर्धी शेखर कोइरालाले वामपन्थी दलसँगको गठबन्धन प्राकृतिक नहुने बताइरहेका छन् । चुनावी गठबन्धनको पक्षमा धारणा राख्ने नेताहरूले पनि कार्यान्वयनको जटिलता औंल्याएका छन् । गत स्थानीय तह निर्वाचनमा भरतपुर महानगर प्रमुखमा उम्मेदवारी दिएर फिर्ता लिएका केन्द्रीय सदस्य दिनेश कोइरालाले कांग्रेसका मतदातालाई फेरि पनि रूखमा भोट हाल्न वञ्चित गरिनु अन्याय हुने बताए । आइतबारको बैठकमा भनाइ राख्दै केन्द्रीय सदस्य कान्तिका सेजुवालले चुनावी गठबन्धन जित्नका लागि अवसर भए पनि यसमा प्रशस्तै चुनौती रहेका बताइन् । ‘स्थानीयस्तरमा जिल्ला र पालिकापिच्छे दलहरूबीच फरक–फरक सम्बन्ध र तिनीहरूको मतको अवस्था छ,’ जुम्लाको चन्दननाथ नगर प्रमुख सेजुवालले भनिन्, ‘सही अध्ययन र विश्लेषण गरेर मात्र गठबन्धन गर्नुपर्छ ।’

केन्द्रीय सदस्य प्रकाश स्नेहीले हरेक पालिकामा वडा सदस्यदेखि प्रमुखसम्म पार्टीका थुप्रै आकांक्षी रहेकाले व्यवस्थापन चुनौतीपूर्ण रहेको बताए । ‘एक्लै लड्दा पनि जित्न सकिने अवस्था छ,’ उनले भने, ‘तर हामीले कहिलेसम्म गठबन्धन गरिरहने ? एक्लै जित्ने पार्टी कहिले बनाउने ?’ केन्द्रीय सदस्य दीपक गिरीले पार्टीलाई एक ढिक्का बनाउनुपर्ने बताए । ‘जित्न गठबन्धन बनाएर मात्र पुग्दैन, पार्टीलाई पनि एक बनाएर लैजानुपर्छ,’ उनले भने ।

कोइराला समूहको गठबन्धनविरोधी आवाजलाई व्यवस्थापन गर्नु देउवाका लागि प्रमुख चुनौती हो । ‘गठबन्धन भएर भोट बढी छ भन्दैमा जितिन्छ भन्ने ग्यारेन्टी गर्न सकिँदैन, यसका लागि पार्टीभित्रको समस्या समाधान गर्नुपर्छ,’ लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले भने, ‘कांग्रेसमा हरेक जिल्लामा वडा सदस्यमै टिकटका लागि लडाइँ छ, गठबन्धन भयो भने आकांक्षीहरूलाई कसरी थमथमाउने ?’ मतदातालाई अन्य चुनाव चिह्नमा मतदान गर्न मनाउनु र उम्मेदवारीका आकांक्षीलाई व्यवस्थापन चुनौती रहेको उनले बताए । विगतमा बागी उम्मेदवारी दिनेको संख्या उल्लेख्य थियो । यसपटक गठबन्धन भए असन्तुष्टि चुलिएर बागी बढ्ने जोखिमप्रति सचेत हुनुपर्ने उनले बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस