चैत १४, एजेन्सी । भारतमा आज र भोलि बन्द आह्वान गरिएको छ । केन्द्रीय सरकारको नीतिको विरोधमा केन्द्रीय ट्रेड युनियनको एउटा संयुक्त फोरमले बन्द आयोजना गरेको हो । बन्दलाई अखिल भारतीय बैंक कर्मचारी संघले समर्थन गरेको छ

मजदुर, किसान र सर्वसाधारणलाई असर गर्ने सरकारी नीतिहरूको विरोध गर्न केन्द्रीय ट्रेड युनियनहरूको संयुक्त फोरमले देशव्यापी हड्ताल आह्वान गरेको हो ।बन्दमा सडक, ट्रान्सपोर्ट, बैंकिङ, रेलवे, विद्युत क्षेत्रमा काम गर्ने मजदुरले पनि साथ दिएको बताइएको छ ।
सार्वजनिक क्षेत्रका बैंकहरूलाई निजीकरण गर्ने सरकारको योजना र बैंकिङ कानून संशोधन विधेयक २०२१ को विरोधमा उत्रिएका बैकिङ युनियनहरु पनि हड्तालमा सहभागी छन् । भारतीय स्टेट बैंकलगायत धेरै बैंकहरूले सोमबार र मंगलबार बैंकिङ सेवाहरू प्रभावित हुनसक्ने ग्राहकहरूलाई जानकारी गराउँदै विज्ञप्ति जारी गरेका छन् ।
बैंकबाहेक हडतालमा स्टिल, तेल, दूरसञ्चार, कोइला, हुलाक, आयकर, तामा, बीमालगायतका अन्य क्षेत्रका श्रमिक सहभागी हुने अनुमान गरिएको छ । बन्दमा २० करोड मजदुरको एक्यबद्धता छ ।
रेलवे र रक्षा क्षेत्रका युनियनहरूले सयाैँ स्थानहरूमा हडतालको समर्थनमा ठूलो ह्याली निकाल्ने अनुमान गरिएको छ ।सडक, यातायात मजदुर र विद्युत् मजदुर आन्दोलनमा सहभागी हुने निर्णय गरेका छन् ।
ऊर्जा मन्त्रालयले आज सबै राज्य सञ्चालित संस्थाहरु तथा अन्य निकायहरूलाई उच्च सतर्कतामा रहन र चौबीसै घण्टा विद्युत आपूर्ति र राष्ट्रिय ग्रिडको स्थिरता सुनिश्चित गर्न सुझाव दिएको छ ।
अस्पताल, रक्षा, र रेलवे जस्ता अत्यावश्यक सेवाहरूमा संलग्नहरूलाई बिजुली आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले एउटा एडभाइजरीमा भनेको छ ।
पश्चिम बंगाल सरकारले भारत बन्दको बावजुद सबै राज्य सरकारी कार्यालयहरू खुला रहने भन्दै सोमबार र मंगलबार कर्मचारीहरूलाई ड्युटीमा उपस्थित हुन अनिवार्य गरेको छ ।