बैशाख ८, काठमाडौं । अपाङ्गता मानव अधिकार प्रवद्र्धन समाजले नेपालका लागि अष्ट्रेलियन दुतावास, इम्पेरियल सेक्योरिटी प्रा.लि.र सिविएम ग्लोबलको सहयोगमा एक महिने लेखनकला र वित्तिय साक्षरता तालिम सम्पन्न भएको छ ।राष्ट्रिय अपाङ्ग महासङ्घका पूर्व अध्यक्ष एवं अभियन्ता सुदर्शन सुवेदीले लेखनकला र वित्तिय साक्षरता सिकाउँदै आत्मनिर्भर बन्न प्रेरित गर्ने लक्ष्यले आयोजित तालिममा आवेदक तीनसय युवामध्ये ३५ जनालाई छनौट गरी एक महिने तालिम प्रदान गरिएको बताउनुभयो ।
महासङ्घका उपाध्यक्ष रमेश लामाले यस तालिममा सहभागी युवा जनशक्तिले अपाङ्गता क्षेत्रका आवाज बुलन्द पार्ने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी यस तालिमका संयोजक कुशल न्यौपाने, सुरज सिग्देल र अनन्त पौडेल, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अपाङ्गता अधिकार प्रवद्र्धन शाखाका उपसचिव जमुना मिश्र र पत्रकार शर्मिला विश्वकर्माले विचार व्यक्त गर्नुभएको थियो ।
दृष्टिविहीन रोशनी अधिकारीले ‘ब्लग लेखन’ तालिममा सहभागी भएपछि आफुमा आत्मविश्वास बढेको बताउनुभयो ।अधिकारीले दृष्टिविहीनहरूले समेत फोटो खिच्न सक्नेरहेछन्, त्यस्ता तस्विरहरूले आफ्नो ब्लगमा समावेश लेख, अनुभवलाई समेत समृद्ध पार्न सकिने कलाले आफुलाई लेख्न सक्छु भन्ने विश्वास पलाएको बताउनुभयो ।
त्यसैगरी व्ह्लिलचियर प्रयोगकर्ता कृष्णा थापाले ममा लेख्ने कला थिएन । यस तालिममा सहभागी भएपछि आफ्नो भोगाईलाई लयवद्ध ढङ्गले प्रस्तुत गर्न सिकेको बताउनुभयो । साथै वित्तिय साक्षरता कला पनि जान्ने मौका पाएपछि आत्मनिर्भर तथा स्वरोजगार बन्ने आँट आएको थापा बताउनुहुन्छ ।