पुष ५, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री गगन थापाले उम्मेदवारी दिने भएका छन् । डा. शेखर कोइरालासँग सोमबार र मंगलबार दुई दिन भएको छलफलमा गगनले देउवाविरुद्ध उम्मेदवारी दिने सहमति जुटेको हो ।
सोमबारको छलफल टुंगोमा नपुगेपछि आज बिहान पुनः कोइराला र थापा पक्षबीच छलफल भएको थियो । सो छलफलमा थापा संसदीय दलको नेताको उम्मेदवार बन्ने र कोइराला प्रस्तावक बन्ने सहमति भएको छलफलमा सहभागी एक नेताले जानकारी दिए । कांग्रेस संसदीय दलको निर्वाचनका लागि आज दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । बुधबार बिहान ८ बजेदेखि निर्वाचन हुनेछ ।
संसदीय दलको नेता पार्टीको तर्फबाट प्रधानमन्त्री बन्ने भएकाले कांग्रेस नेताहरु रस्साकस्सीमा छन् । देउवा समूहबाट पार्टी सभापति एवम् हालका प्रधानमन्त्री शेरबहादुर देउवा आफैं दलको नेताको उम्मेदवार बन्ने निश्चित छ ।
