चैत ४, काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले बैंकको बढ्दो ब्याजदरप्रति व्यवसायीले गुनासो गर्न थालेपछि नियन्त्रणका लागि छलफल थालेको बताएका छन् ।ललितपुर उद्योग वाणिज्य संघको ५५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले व्यवसायीको मागअनुसार व्याजदर निर्धारणका लागि आफूले पहल थालिरहेको बताए ।

उनले भने, “बैंकले आफूखुसी ब्याजदर निर्धारण गर्ने प्रचलन छ । अर्थतन्त्रमा असर नपर्नेगरी बैंकको ब्याजदर सीमा निर्धारण गर्दै व्यवसायी अनुकूल हुनुपर्छ भनेर छलफल थालेको छु,“राष्ट्र बैंकलाई उत्पादनमूलक क्षेत्रको कर्जाको बेसरेट २ प्रतिशतभन्दा बढी राख्न हुँदैन पनि भनेको छु ।”
उनले चाँडै बैंक तथा बित्तिय संस्थाका प्रतिनिधिसँग थप छलफल गरी मध्यममार्गी बाटो अपनाई समस्या समाधान गर्ने बताए । आफूले राष्ट्र बैंकसमक्ष उत्पादनमूलक क्षेत्रको कर्जाको बेसरेट २ प्रतिशत भन्दा बढी राख्न नहुने सुझाव दिएको समेत उनले बताए । ४७ बस्तुको आयातमा मार्जिन लगाएपछि कूल आयात घट्न थालेको र यसले अर्थतन्त्रमा सुधार आउने उनको विश्वास छ ।