चैत १०,काठमाडौँ। नेकपा माओवादी केन्द्रको आज बसेको स्थायी कमिटी बैठकले साविक नेकपा विभाजन गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनमा जाने निर्णय गरेको छ ।

सिंहदरबारमा बसेको स्थायी कमिटी बैठकले अदालतको फैसला राजनीतिक रहेको भन्दै पुनरावलोकनमा जाने निष्कर्ष निकालेको हो । पार्टी सचेतक देव गुरुङका अनुसार स्थायी कमिटीका सदस्यहरूले कानुन व्यवसायीहरूसँग छलफल गरेर नै उक्त निष्कर्ष निकालिएको हो । सो क्रममा कानुन व्यवसायीहरू शम्भु थापा, रामनारायण बिडारी, चण्डेश्वर श्रेष्ठलगायत पनि छलफलमा सहभागी रहेको बताइएको छ । कानुन व्यवसायीहरूले फैसलाको ६० दिनभित्र पुनरावलोकनका लागि निवेदन गर्न सकिने सल्लाह दिएको समेत बताइएको छ ।
सर्वोच्च अदालतले गत फागुन २३ गते ‘नेकपा’ नाम विवादको मुद्दामा तत्कालीन सत्तारूढ नेकपा दल नै अवैधानिक रहेको फैसला गरेको थियो । एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते पार्टी एकता भएर (नेपाल कम्युनिष्ट पार्टी) नेकपा बनेको थियो । तर सर्वोच्चको पछिल्लो फैसलासँगै नेकपा विभाजन भएर दुइ पार्टी पूर्ववत् रूपमा नै फर्किएका छन् ।