वि.सं. २०७९ आश्विन २२ गते शनिवार तदनुसार ई. सं. २०२२ अक्टोबर ०८ तारिख, नल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२३, शाके १९४४, नेपाल सं. ११४२, किरातवर्ष ५०८२, मञ्जुश्री वर्ष २८५८, हिजरी सं. १४४४, नेपालमा सूर्योदय : बिहान ०६:०० बजे र सूर्यास्त : साँझ ०५:४१ बजे, चन्द्रोदय : साँझ ०४:१० बजे र चन्द्रास्त : भोलि बिहान ०४:१९ बजे, आश्विन शुक्ल (दुर्गा) पक्ष (कौलाथ्व) चतुर्दशी तिथि, भोलि बिहान ०३:३२ बजेसम्म, त्यसपछि पूणर्िमा तिथि, पूर्वाभाद्रा नक्षत्र, साँझ ०५:५७ बजेसम्म, त्यसपछि उत्तराभाद्रा नक्षत्र, चन्द्रमा कुम्भ राशिमा, दिउँसो १२:०७ बजेसम्म, त्यसपछि मीन राशिमा
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
महत्त्वाकाङ्क्षाको भावना पलाउन सक्छ । कुनै दीर्घ प्रयोजनका योजना छन् वा विदेशमा पढ्ने सपना छ भने अझ धेरै मिहिनेत गर्नु जायज हुन्छ । ज्ञान र अनुभूतिमा बृद्धि हुनेछ । अड्डा-अदालतमा अड्किएको कुनै काम गर्न अनुकूल समय छ, त्यस्तै कुनै बाँकीबक्यौता रकमको कारोबार मिलाउनु छ भने पनि आजको प्रयास फलदायी हुनेछ । कुनै पुरानो समस्यामा घोत्लिनुपर्ने तथा असमझदारी बढ्नाले कार्यक्षेत्र प्रभावित बन्नसक्ने दिन छ । तर पनि सहकर्मी र सिनियर्सको सहयोग पाउने दिन हो ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
व्यवसायिक र आन्तरिक जीवनमा तालमेल मिलाउन हम्मेहम्मे पर्नेछ, घरायसी कामको समेत चाप बढ्ने समय हो, समय निकालेर लवमेटसँग कुराकानी गर्नु बेस हुन्छ । भाइबहिनीका तर्फबाट खुसीको समाचार सुन्न पाइने छ । आज कुनै प्रतिस्पर्द्धा वा परीक्षा भिड्दा सफलता प्राप्त हुनेछ । आकस्मिक लाभ पाउने दिन छ । कारोबारबाट राम्रै फाइदा हुने दिन छ, फलाम, कोइला, पेट्रोलियम पदार्थ आदि नै तपाईंको व्यापार हो भने अझ राम्रो प्रतिफल पाइने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
धर्मकर्म वा परोपकारी काममा खट्नु पर्नेछ । समाज र छरछिमेकका काम गर्दा मानसम्मान पाइएला, तर घरपरिवारमा समय दिन नपाउनाले ठास्सठुस्स बढ्ने समय हो । सपनालाई साकार बनाउने दिन हो, महत्त्वाकाङ्क्षा राख्नाले लक्ष्य पहिल्याउन सजिलो हुनेछ, कुनै योजना छन् भने अझ धेरै मिहिनेत गर्नुहोस्, सफलता मिल्नेछ । शान्त र स्थिर मतिको उदय हुनेछ, परोपकारी समय हो, प्रेम र भाइचारालाई समेत जीवन्त तुल्याउन सकिने छ । ठूलाबडाको सहयोग लिन सके नबन्ने काम पनि बन्नसक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
यन्त्र वा उपकरणको प्रयोगमा सावधान हुनुपर्छ, विवाद वा लफडामा पनि पछि हट्नुहोला, समस्या परेमा सिनियर कर्मचारीको सहयोग लिनु बेस हुनेछ । कुनै कुरालाई लिएर वैचारिक मतभेद हुनसक्छ, आफूलाई चित्त नबुझेको कुरामा ‘हँ मा हँ’ मिलाउनुभन्दा ‘नाइँ’ पनि भन्न सक्नुपर्छ । ठूलाबडाको सरसहयोग र सहानुभूति मिल्नेछ । पारिवारिक वातावरण पनि अनुकूल हुनेछ । नयाँ ठाउँको भ्रमण वा अवलोकन हुने समय हो ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सधैंभन्दा बढी व्यस्त हुने समय हो, खटेअनुसार फाइदा पनि लिन सकिन्छ, तर आजको केही समय जीवनसाथी वा छोराछोरीका लागि छुट्याउनु ठीक हुन्छ । मन पिरोल्ने समस्यालाई हल गरिने छ, प्रयास गरेमा मनको बोझ कम गर्न सकिन्छ । जीवनसाथीले पनि तपाईंको मनको कुरो बुझिदिंदा दङ्ग पर्न सक्नुहुन्छ । तपाईंलाई गुरुवर्ग र अभिभावकले निकै भरोसा र विश्वास राखेको देखिन्छ, अतः लक्ष्यप्रति सचेत भई टुप्पी कसेर मिहिनेत गर्ने समय छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
मनमा लुकेका भ्रम र चिन्ता बाहिरिने समय हो, अनावश्यक चिन्तामा रुमल्लिने हुँदा अपेक्षा गरेअनुरूप समयमा काम सिध्याउन मुस्किल पर्ला । ओभर कन्फिडेन्स वा घमण्ड नगर्नुहोला, परीक्षा वा प्रतिस्पर्द्धा नजिकै आएको छ भने खेलवाड र मनोरञ्जनलाई पूणर्तया त्यागेर थप मिहिनेत गर्नु समुचित हुनेछ । घमण्ड र अहङ्कारको उदय हुने समय भएकाले आज आत्मसंयमी र गम्भीर बन्ने प्रयास गर्नुहोला, सोचेजस्तै लाभ प्राप्त गर्न केही समय कुर्नुपर्ने हुन्छ, तर बहस, वादविवाद र तर्कवितर्कमा जीत हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
कामबाट फुर्सद निकालेर सङ्केत र हाउभाउको प्रयोग गरी कतै घुमघाममा निस्कने वा किनमेलमा जाने अनुकूलता मिल्नेछ । अड्डा/अदालत वा सरकारी काम पूरा गर्न राम्रो समय छ, तर आज झैझगडा र विवाद/बहसबाट जतिसक्दो टाढा बसेको राम्रो हुनेछ । सानो प्रयत्नले हैसियतमा बृद्धि हुनेछ, क्षमता र बुद्धिको उपयोग गर्दा कारोबारले गति समात्न थाल्नेछ, साथै अड्किएका काम पनि पुनः प्रारम्भ हुनेछन् ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
पारिवारिक समस्याले खिन्न बनाउनेछ, तर आज लापरबाही गर्ने वा भुलिने दिन होइन किनभने आज गरेको मिहिनेतले राम्रो रिजल्ट दिनसक्छ । आवेगहरूमा नियन्त्रण गर्न नसक्नाले निराशा र खिन्नताको अनुभूति हुनसक्छ, अतः आफ्ना लागि समय प्रदान गर्नु र चिन्तन गरी वर्तमान समस्याको हल गर्ने प्रयास गर्नु उपयोगी हुनेछ । पेसागत र व्यवसायिक परिस्थिति राम्रै देखिन्छ, तर आज घरपरिवारलाई पनि केही समय छुट्याउनु होला, नत्र आपसी विचार/विमर्शमा खाडल सिर्जना हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
धनधान्य र प्रतिष्ठाका दृष्टिले राम्रो दिन छ, साझेदारीमा कुनै व्यवसाय गर्दै हुनुहुन्छ वा कुनै यात्रामा सँगै निस्कँदै हुनुहुन्छ भने साझेदारलाई आफ्ना विचार, इच्छा र आनीबानीका बारेमा खुलेर बताउनु होला । कडा परिश्रमको उत्कृष्ट नतिजा प्राप्त हुनेछ, सहकर्मीहरूले तपाईंको क्षमतामाथि विश्वास गर्न थाल्नेछन्, जुनियर स्टाफ र सहयोगीका भावनालाई बुझ्ने प्रयास गर्नुहोला । नयाँ एवं पुराना मित्रसित भुलिनाले पार्टनरलाई समय प्रदान गर्न सकिंदैन, तर कुनै व्यक्तिगत कार्य सम्पन्न हुने दिन छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
दैनिक क्रियाकलापमा पूणर् रूपेण तन्मय भएर काम गर्ने दिन हो । तर आजको थकित दिन पनि साँझमा एउटा रोमान्टिक पलका रूपमा परिणत हुनसक्छ । गरेका अठोट र लिइएका निणर्यहरूमा सफलता मिल्नेछ । अचानक कुनै यात्राको योजना पनि बन्नसक्छ, तर त्यसबाट पनि लाभ उठाउन सकिने दिन हो । मनको आकर्षण र आन्तरिक क्षमताको उपयोग गरी परिवारमा प्रभुत्व जमाउन सकिने छ । तर कुनैकुनै कुराले तपाईंलाई एक्लो र खिन्न बनाउन सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
रुचिको क्षेत्रमा गरेको प्रयासमा सफलता मिल्ने दिन हो, थप धनार्जन गर्ने विषयमा चिन्ता गर्न सक्नुहुन्छ, साझेदारीमा आधारित व्यापारबाट राम्रो लाभ हुनेछ । नयाँ अनुभवका साथ कसरी अघि बढ्ने भन्ने चिन्तामा केन्द्रित भइने छ, हिसाबकिताबको लेखाजोखा र व्यवस्थापकीय जिम्मेबारीका लागि समय छुट्याउनु पर्ने हुन्छ । सम्बन्धलाई बलियो बनाउन मायाका दुई अक्षर र एउटा मुस्कानमात्र प्रशस्त हुन्छ, त्यसैले जे गर्नुहुन्छ, मनैदेखि गर्नुहोस्, दिन राम्रो बन्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
धनको मामिलामा उदासीन बन्नुहुँदैन, त्यस्तै कुनै पनि ठूला निणर्यहरू लिनुहुँदैन । कुनै काम गर्ने हो भने केही समय योजना बनाउनुहोस्, अनुभवी र सिनियर्सको सुझाव ग्रहण गर्नुहोस्, अनिमात्र काम थाल्नुहोस् । कुनै व्यक्तिगत समस्या आइपर्नाले कार्यक्षेत्रमा खट्ने अनुकूलता मिल्दैन । कामको चाप बढ्नाले सहयोगी कर्मचारी र हाकिम रुष्ट हुनसक्छन् । आनन्दप्राप्तिका लागि एकअर्काको कमजोरी खोतल्ने काम गर्नु हुँदैन, एकआपसमा समर्पित भएमा मात्र प्रेम सफल हुन्छ भन्ने कुरामा विश्वास गर्नुहोला ।
