माघ १४, काठमाडौं । माघ १८ गते अर्थात् आउँदो शुक्रवारदेखि शुरू हुने संसद् अधिवेशन अन्तर्गत माघ महिनाको कार्यतालिका तयार भएको छ । आज सिंहदरबारमा बसेको सभामुख र राजनीतिक दलहरूका प्रमुख सचेतक/सचेतकहरूको बैठकले कार्यतालिका तयार पारेको हो ।

कार्यतालिका अनुसार १८ गतेपछि २२, २३ र २४ गते संसद्को बैठक बोलाइने तय भएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । उहाँका अनुसार २५, २६ र २७ गते संसदीय समितिको बैठक बस्नेछ । त्यस्तै २८ २९ र ३० गते पुनः संसद्को बैठक बस्नेछ ।
संसद् अधिवेशन हुने दिन प्रधानमन्त्री केपी शर्मा ओलीसहित दलका नेताहरूले सम्बोधन गर्नेगरी तालिका छ । त्यस्तै संसद्को पहिलो दिन नै सबै अध्यादेश पेश हुने बर्तौलाले जानकारी दिनुभयो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सरकार सदनप्रति उत्तरदायी नभएको महसूस आफूहरूले गरिरहेको बताउनुभयो ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आर्थिक गतिविधि चलायमान बनाउन अध्यादेश ल्याएको दाबी गर्नुभएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशको आर्थिक अवस्था सुधार गर्नका लागि अध्यादेशमार्फत २९ वटा कानून परिवर्तन गरेको जिकिर गर्नुभयो । उहाँले संसद्को हिउँदे अधिवेशनमा सरकारले सदनलाई बिजनेस दिने कुरामा दृढ रहेको बताउनुभयो ।