चैत १८, काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सर्वोच्च अदालतको आदेश पालना गरेर अघि बढे नेकपा एमाले थप बलियो बन्ने बताउनुभएको छ । बालाजु बाईपासमा निर्माणाधिन सूचना केन्द्रको शिलान्यास गर्दै मन्त्री मानन्धरले पार्टी भित्र देखिएको संक्रमण केहि दिनभित्रै समाधान हुने दाबी पनि गर्नुभयो । सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्रलाई अलग अलग पार्टीको मान्यता दिएकाले अब एमाले थप संगठित हुने बताउनुभयो ।

वरिष्ठ नेता नेपाल समूह तर्फ संकेत गर्दै अनावश्यक लफडाले आफैलाई घात गर्ने मन्त्री मानन्धरको तर्क छ । तत्कालिन नेकपामा रहँदाको अवस्थाबाट आफुहरु एमाले भइसकेकाले अब पार्टी भित्र अन्तर कलह गर्ने नेताहरुलाई आवश्यक कारबाही हुने मन्त्री मानन्धरले बताउनुभयो । नेकपा एमालेको नेतृत्वमा रहेको वर्तमान सरकारले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न लागिपरेको बताउँदै पार्टी भित्रबाटै जनताको समृद्धिको सपनामाथि खेलवाडको प्रयास भइरहेको पनि मन्त्री मानन्धरको दाबी छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली नेतृत्वको सरकारले गरेका जनपक्षिय काम देखेर अत्ताल्लिएकाहरु सरकारविरुद्ध खनिएको मन्त्री मानन्धरको तर्क छ । सरकारले एक पछि अर्को जनपक्षिय कामहरु गरिरहेको बताउँदै जनताको सामाजिक सुरक्षा र आर्थिक हैसियत बढाउने सरकारको प्रयास रोक्न खोजिएको दाबी गर्नुभयो । एमाले भित्रको संक्रमण समाधान गरेर राष्ट्रिय आकांक्षा पुरा गर्नेगरी प्रधानमन्त्री ओलीले काम गरिरहेको बताउँदै मन्त्री मानन्धरले संस्थागत पार्टी प्रणालीमा कसैको व्यक्तिगत चाहना अनुसार पार्टी चल्न नसक्ने बताउनुभयो । आफ्नै पार्टीका केही नेताहरु सरकार र पार्टी विरोधी गतिविधिमा संलग्न रहेको बताउँदै मन्त्री मानन्धरले इतिहासले सबैलाई दण्डित गर्ने बताउनुभयो ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले समृद्ध नेपाल निर्माणको अभियानमा काठमाडौं महानगरले आवश्यक काम गरिरहेको बताउनुभयो । करिब एक करोड लागतमा बालाजु बाईपासस्थि काठमाडौं महानगरपालिकाको स्वामित्वमा रहेको कित्ता नम्वर ९९ र १२५ को जग्गामा सुविधा सम्पन्न सार्वजनिक शौचालयसहितको सूचना केन्द्र निर्माण गरिंदै छ ।