• २०८२ जेष्ठ ३० गते बिहिवार

अध्यक्ष बन्न महाधिवेशन र प्रधानमन्त्री बन्न चुनावमा जाउँ : नेता नेम्वाङ

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

श्रावण १०, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले पार्टीको अध्यक्ष बन्नको लागि महाधिवेशनमा जानुपर्ने बताउँदै कसैलाई प्रधानमन्त्री बन्ने चाहना भए चुनावसम्म पर्खनुपर्ने बताउनुभएको छ ।

नेकपाको स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पदबाट केपी ओलीले राजिनामा दिनुपर्ने अर्का अध्यक्ष पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतले माग गरेपछि पार्टी भित्र अत्याधिक विवाद चुलिएको छ । गुट र उपगुटकै कारण पार्टी विभाजनको अवस्थासम्म पुग्ने आंकलन गरिएको छ । तर त्यो सहज भने छैन ।

महाधिवेशन गर्नेमा कुनै पनि नेतामा अहसमति नरहेको बताउँदै नेता नेम्वाङले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा नदिने स्पष्ट पार्नुभएको छ । उहाँले भन्नुभयो, ‘महाधिवेशन गरौं अर्को अध्यक्ष आउन सक्नुहुन्छ, ल्याउँ । संविधान बमोजिम निर्वाचनमा जाउँ, अर्को प्रधानमन्त्री चुनौं ।’

नेकपाको विवाद मिलाउनका लागि र पार्टी एक बनाएर अगाडि बढाउनका लागि अध्यक्षद्वय ओली र दाहाल मिल्नुको विकल्प नभएको बताँदै नेता नेम्वाङले आगामी महाधिवेशन पहिल्यै दुईमध्ये एउटालाई पदबाट हटाउन नमिल्ने र त्यसो गरिएमा पार्टी एकतामा असर पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कतिपय कुराहरू टुंगोमा अहिले नै पुग्न नसकिने भएकाले महाधिवेशनबाट टुंगोमा पुर्‍याउछौं र त्यो महाधिवेशन एकताको महाधिवेशन हुन्छ भनेर घोषणा गर्‍यौं । यहीबीचमा एकीकरणको घोषणा गर्नेमध्ये एउटा अध्यक्ष चाहे प्रचण्डको भन्नुस् चाहे केपी ओलीको, उहाँले हट्नुपर्छ भन्दा त्यो एकीकरण प्रक्रियालाई टुंगोमा पुर्‍याउन सहयोग पुग्छ कि पुग्दैन ?”

प्रधानमन्त्रीले हतारमा संसद अधिवेशन अन्त्य गरी अध्यादेश ल्याउने भनेर दिएको चेतावनीले उत्कर्षमा पुगेको विवाद मिलाउनमा समाधानका लागि अध्यक्ष तथा प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसामू मंसिरमा ‘अर्ली महाधिवेशन’ गर्ने र त्यसबाट एकल अध्यक्ष बन्न प्रस्ताव गरेको सार्वजनिक भयो । तर, अहिलेको अवस्थामा अर्ली महाधिवेशनको सम्भावना कम रहेको नेकपाका नेताहरू बताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस