कात्तिक ११, काठमाडौं । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको एक किलो ३३८ ग्राम गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको गुजरात राज्यस्थित अहमदाबादका २३ वर्षीय भावर्सिङ र सोही राज्यको अहमदाबादस्थित ओर्किड एप्पलवुड्स टाउनसिपका ३३ वर्षीय वन्दित पटेल रहेका छन् ।

लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक जीवन निरौलाका अनुसार विशेष सूचनाका आधारमा सञ्चालन गरिएको प्रहरी कारबाहीका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो ।
उहाँका अनुसार यही कात्तिक १० गते अमेरिकाबाट कुरियरमार्फत कागजात (डकुमेन्ट)को आवरणमा लुकाइछिपाई नेपाल ल्याइएको एक किलो ३३८ ग्राम गाँजा बरामद गरिएको हो । उक्त लागुऔषध डेलिभरी नियन्त्रण विधिमार्फत बरामद गरी त्यस कार्यमा संलग्न रहेको आरोपमा दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
विदेशबाट कुरियरमार्फत लागुऔषध ल्याइएको भन्ने विशेष सूचना प्राप्त भएपछि ब्यूरोको टोलीले निगरानी तथा अनुसन्धान अघि बढाएको थियो । सोही क्रममा कुरियरमार्फत आएको शङ्कास्पद सामग्रीको अनुसन्धान गर्दा गाँजा फेला परेको प्रहरीको भनाइ छ ।
ब्यूरोका सहप्रवक्ता निरौलाले पक्राउ परेका दुवै जनामाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो । प्रहरीले उक्त लागुऔषध नेपाल ल्याउनुको उद्देश्य, त्यसको वास्तविक गन्तव्य तथा यस कार्यमा अन्य व्यक्तिको संलग्नता रहे नरहेको विषयमा अनुसन्धान अघि बढाइएको जनाएको छ ।