असोज १३, गलकोट । बागलुङ नगरपालिकाले बजेट अभावमा अल्झदै आएको बाङ्गेचौर खेल मैदानलाई स्तरोन्नति गरी रङ्गशाला बनाउने योजना अगाडि बढाएको छ । सङ्घीय सरकारको समपूरक बजेट साझेदारीमा नगरपालिकाले रङ्गशाला निर्माणलाई यसै आर्थिक वर्षबाट प्रारम्भ गर्ने जनाएको छ ।
घाँसेमैदानका रुपमा रहेको खेलमैदानलाई रङ्गशाला बनाउनका लागि नगरपालिकाले मात्रै आर्थिक वर्ष २०७९/८० सम्म चार करोड रकम लगानी गर्ने भएको छ । नगरपालिका र राष्ट्रिय योजना आयोगले छनोट गरेको विशेष योजनाअन्तर्गत आब २०७९/८० को असार मसान्तसम्म नगरपालिका र सङ्घीय सरकारको संयुक्त रुपमा रु आठ करोड २२ लाख बराबरको काम हुनेछ । यसमध्ये सङ्घीय सरकार र नगरपालिकाको ५०/५० प्रतिशत लगानी हुनेछ ।बागलुङ–१ रामरेखामा रहेको उक्त मैदान अहिले घाँसेमैदानका रुपमा मात्रै छ । मैदानमा अहिले संरचनाको अभाव छ । रु आठ करोड २२ लाख खर्चेपछि घाँसेमैदानका रुपमा रहेको खेलमैदान आधारभूत रङ्गशालामा परिणत हुने नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।
“नगरपालिकाले खेलकुद क्षेत्रमा समेत ठूलो लगानी गर्न थालेको छ, घाँसेमैदानका रुपमा रहेको बाङ्गेचौरमा हामीले आधारभूत रङ्गशाला निर्माणका लागि ठेक्का प्रक्रियामा जान थालेका छौँ,” उहाँले भन्नुभयो, “हामी निर्वाचित भएर आइसकेपछि ठूलो पहल र प्रयासका बीच खेलमैदानको स्तरोन्नतिका लागि राम्रै रकम विनियोजन गरेका समेत छौँ, आब२०७९/८० सम्ममा पाँच हजार दर्शकले एकैसाथ खेल हेर्न सक्नेगरी आधारभूत रङ्गशाला निर्माण हुने हाम्रो अठोट रहेको छ ।”तत्कालीन खेलकुद विकास समितिका अध्यक्ष धनबहादुर परियारका नेतृत्वमा तीन वर्षअघि रङ्गशालाको विस्तृत प्ररियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको थियो । यसपछि छलफलका क्रममा केही संरचना थप भएका कारण डिपिआरमा उल्लेख भएभन्दा बढी लागत लाग्ने उहाँले बताउनुभयो ।झन्डै रु ३० लाख खर्चेर बनाइएको डिपिआरपछि सुझाव सङ्कलनका क्रममा सरोकरावालाहरुको सुझावका आधारमा पार्किङ, ढोका, भित्री खेलका लागि संरचना लगायतका संरचना थप गर्न भनिएको थियो ।
नगरपालिकाका इन्जिनियर मनोज शर्माका अनुसार डिपिआरमा केही त्रुटि भएको छ । डिपिआरमा राखिएका संरचना ठीक भए पनि लागत अनुमान भने झण्डै आधा कम अनुमान गरिएको उहाँको भनाइ छ । “तीन वर्ष पुरानो डिपिआर हो, केही लागत अनुमान थोरै छ तर उल्लिखित संरचना निर्माण गर्न धेरै खर्च लाग्छ,” उहाँले भन्नुभयो, “उल्लेख डिपिआरमा लागत अनुमान रु ११ करोड भए पनि अहिले रु आठ करोडको ठेक्कामार्फत गराइने संरचना रङ्गशालाको एक चौथाइ मात्रै हुनेछ ।” सुविधा सम्पन्न रङ्गशाला निर्माण गर्न झन्डै ३० करोडभन्दा माथि लाग्ने अनुमान गरिएको छ । उहाँका अनुसार अहिले खेलमैदानको पूर्वतर्फ प्याराफिट लगायतको संरचना निर्माण थालिनेछ । अहिलेको रु आठ करोड २२ लाखको ठेक्काअन्तर्गत खेलमैदानमा दुबो लगाइने, पाँच हजार दर्शकले हेर्न मिल्ने प्याराफिट निर्माण गर्ने र सामान्य रुपमा खेलमैदानलाई मापदण्ड अनुसारको बनाइने मात्रै काम हुनेछ । पछि बजेट थप हुँदै गएर पुनः ठेक्का लगाएमा खेलमैदानको पश्चिमतर्फ संरचना निर्माण हुनेछ ।
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गसँगै जोडिएको खेलमैदान सडकको मापदण्ड छोडेर अथवा सडकलाई भूमिगत गरेर मात्रै पश्चिम क्षेत्रका संरचना बनाइनेछ । खैलमैदान र खेल हेर्ने प्याराफिट, शौचालय, पार्किङ लगायतका संरचना बनेपछि खेलकुदका गतिविधि गर्न निकै सहज हुनेछ । संरचनाहरु पूर्ण रुपमा भूकम्प प्रतिरोधीसमेत हुनेछन् । नगरपालिकाले यस वर्ष खेलमैदानका लागि रु एक करोड ७१ लाख नगरपालिकाको र एक करोड ७१ लाख सङ्घीय सरकारको गरी चालु आर्थिक वर्षमा मात्रै रु तीन करोड ४२ लाख रकम खर्च हुनेछ । रङ्गशाला ३५ रोपनी जग्गामा निर्माण गर्न थालिएको छ ।लामो समयको प्रयासपछि रङ्गशाला निर्माण गर्नका लागि ठेक्का प्रक्रियामा जान थालेपछि खेलकुदप्रेमीहरुसमेत खुसी भएका छन् । जिल्लामै ठूलो र भौगोलिक हिसाबले सदरमुकामसँग जोडिएको बाङ्गेचौर खेलमैदान जिल्लामै उत्कृष्ट छ ।
पूर्वफुटबल खेलाडी तथा जिल्ला फुटबल सङ्घ बागलुङका कोषाध्यक्ष सूर्य लामिछाने २०औँ वर्षदेखिको रङ्गशाला निर्माणको सपना नगरपालिकाको समन्वय र साझेदारीमा अगाडि बढ्न थालेकामा खुसी व्यक्त गर्नुभयो । “२० वर्षअघि देखि रङ्गशालाको कल्पना गरेका थियौँ, हामी घाँसेमैदानमा खेले पनि आगमी पुस्ता रङ्गशालामै खेल्न पाउनेछन् भन्ने छ,” उहाँले भन्नुभयो, “रङ्गशाला निर्माणलाई छिटो सार्थकता तुल्याउन हामी सबैले सक्दो सहयोग गर्न सके धौलागिरिको खेलकुद विकासमा ठूलो टेवा पुग्नेछ ।”