जेठ १५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जानु प्रतिगमन नभएको बताउँदै निर्वाचनमा जानुलाई ‘प्रतिगमन भन्नु’ जनताको सार्वभौम सत्ता अस्वीकार गर्नु रहेको टिप्पणी गरेका छन् । तोकिएकै समय निष्पक्ष निर्वाचन गराउने प्रतिबद्धतासमेत जनाउँदै उनले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्नेक्रममा ‘आवधिक निर्वाचनमार्फत जनताका तर्फबाट जनादेश आउनु लोकतान्त्रिक प्रक्रिया भएको’ बताएका छन् ।
कोभिड लहर निकै संक्रामक, बढी घातक रहेको र यसको रोकथाम तथा नियन्त्रणका लागि राज्यका सबै संयन्त्र परिचालित गरिएको पनि ओलीले जानकारी दिए । संक्रमण साङ्लो चुहाउन निषेध आदेश पालना गर्न र महामारी नियन्त्रणका लागि सरकारले चालेका कदममा साथ दिन उनको आग्रह छ ।
प्रधानमन्त्री ओलीले समस्या समाधानका लागि सम्पूर्ण शक्तिकेन्द्रित गरेको र त्यसले गर्दा स्थितिमा सुधार आएको विश्वास दिलाए । ‘भारतबाट लिक्विड अक्सिजन नियमित र थप मात्रा आपूर्ति हुन थालेको छ,’ उनले भने, ‘अन्य उद्योगमा रहेका हजारौं अक्सिजन सिलिन्डर संकलन गरी अस्पतालहरूमा पठाइएको छ ।’
अक्सिजन प्लान्टलाई पूर्ण क्षमतामा सञ्चालन गरिएको बताउँदै उनले अक्सिजन उद्योगलाई विद्युत् महसुलमा छुट दिने व्यवस्था गरिएको उल्लेख गरे । नागरिक जीवनरक्षाका लागि विदेशबाट एयरलिफ्ट गरेरसमेत सिलिन्डर ल्याइएको उनको कथन छ ।
कोभिड महामारीमाथि निर्णायक विजयका लागि खोप अनिवार्य रहेको जनाउँदै प्रधानमन्त्री ओलीले हालसम्म अनुदानबाट प्राप्त ३२ लाख २८ हजार र खरिदबाट उपलब्ध १० लाख डोजबाट खोप अभियान अगाडि बढाएको बताए । ‘थप खोप व्यवस्था गरेर सबै वयस्क नागरिकलाई लगाइने र महामारी नियन्त्रण गरी छाड्ने विश्वास उनले दिलाउन चाहे ।
प्रधानमन्त्री ओलीले नीतिहीन गठबन्धन भ¥याङ चढेर सरकारमा जान खोज्नु ‘अराजनीतिक झेली काम भएको’ टिप्पणी पनि गरे । प्रतिनिधिसभा पूर्णकालीन र कामकाजी बनाउन चाहे पनि त्यस्तो परिस्थिति बन्न नदिइएको उनको गुनासो छ ।
सरकारलाई विश्वासको मत प्रदान गर्ने र विकल्प दिन सक्ने अवस्था सिर्जना नगरिएकाले राजनीतिक अन्योल कायम गर्नु ‘ठीक नहुने देखेरै संविधानबमोजिम कदम चालेको’ प्रस्टोक्ति छ ।
प्रधानमन्त्री ओलीले विपक्षी दलले बहुदलीय व्यवस्थाको धज्जी उडाउँदै अराजक गतिविधि गरेको आरोप लगाउँदै संविधानको धारा ७६ उपधारा ५ अनुसार दाबी नपुगेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचन मिति घोषणा गरेको स्मरण गराए । बहुदलीय व्यवस्थाप्रति नै नैराश्यता ल्याउनेखाले गतिविधि प्रतिपक्षी दलबाट भइरहेको उनको आरोप छ ।
स्वार्थी गठबन्धनले गर्दा एकता भंग भएकोसमेत प्रधानमन्त्री ओलीले दाबी गरे । ‘स्वार्थकेन्द्रित गठबन्धन नबनेको भए अहिलेसम्म पार्टी एकता महाधिवेशन सम्पन्न भएर नयाँ नेतृत्व आइसकेको हुन्थ्यो,’ उनले भने, ‘कतिपय नेतामा विभाजन गतिविधिप्रति कत्ति पनि लज्जा नभएको देखियो, पार्टीको निर्देशनविपरीत फ्लोरक्रस गराउने, आफ्नै दलको प्रधानमन्त्रीलाई हटाउने हस्ताक्षर अभियान चलाउने काम गरिए ।’
अनेक प्रतिकूलताबीच पनि सरकारले आर्थिक रूपले उल्लेख्य प्रगति उल्लेख गरेको बताउँदै उनले नेपाल अल्पविकसितबाट विकासशील देशमा सिफारिस भएको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले पछिल्लो तीन वर्षमा नेपालले विभिन्न क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको दाबीसमेत गरे । नेपालीको प्रतिव्यक्ति आय २५ प्रतिशतले वृद्धि भएको र रणनीतिक पूर्वाधार क्षेत्रमा इतिहासमै धेरै उपलब्धि भएको उनले विश्वास दिलाए । संविधान पूर्ण कार्यान्वयनमा आएको, संघीयताले स्थायित्व प्रदान गरेको, लामो सयमदेखि रिक्त संवैधानिक निकायले पूर्णता पाएको, हिंसाको बाटो हिँडेका समूह शान्ति प्रक्रियामा आएको भन्दै यो कार्यकालमा महत्वपूर्ण उपलब्धि हासिल गरेको उनले दाबी गरेका छन् ।
ओलीले सम्बोधनक्रममा देशमा भौतिक पूर्वाधार, सडक, पुल निर्माण, खानेपानी, भूकम्पले क्षतिग्रस्त बनाएका ऐतिहासिक र पुरातात्विक संरचना पुनर्निर्माण, सुरक्षित आवास निर्माण, सुकुमबासी समस्या समाधान गर्न आयोग गठन भएको जनाएका छन् । यो समाचार आजको राजधानी दैनिकमा रहेको छ ।