• २०८३ जेष्ठ ६ गते बुधवार

थप चार जना कोरोना संक्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कार्तिक  १५, काठमाडौं । नेपालमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

झापाको गौरीगञ्ज घर भएका ७३ वर्षीय पुरुषको शनिबार ६ बजेर ४५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । पहिलेदेखि नै मुटुको समस्याबाट पीडित ती पुरुषमा कात्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । दाङका एकजना कोरोना संक्रमित बाँकेमा उपचारको क्रममा मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. ४ निवासी ७० वर्षीय पुरुषको बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा शनिबार बिहान मृत्यु भएको हो ।

उनी कात्तिक ११ गते अस्पताल भर्ना भएका थिए । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा उनमा कात्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारको क्रममा शनिबार बिहान ५ बजेतिर उनको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

त्यस्तै होम आइसोलसनमा बस्दै आएका पूर्वी नवलपरासीका दुई जना कोरोना भाइरस संक्रमित मृत्यु भएको छ । गैंडाकोट नगरपालिका वडा नं. २ की ७७ वर्षीया महिला र कावासोती नगरपालिका वडा नं. ६ का ६७ वर्षीय पुरुषको शनिबार वहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईले जानकारी दिए । उनकाअनुसार दुवै जनाको सुरक्षा निकाय, जनप्रतिनिधि र स्वास्थ्यकर्मीको निगरानीमा घर परिवारले नै दाहसंस्कार गर्ने तयारी भैरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस