• २०८३ भाद्र ३० गते मङ्गलवार

राष्ट्रिय सभा निर्वाचनमा १२ दल

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

पौष १२, काठमाडौं । १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा १२ दल सहभागी हुने सुनिश्चित भएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगले दल दर्ताका लागि दिएको १० पुसको समय सीमाभित्र १२ दलले निर्वाचनमा सहभागी हुन भन्दै दल दर्ता गराएका हुन् ।

आयोगका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी नेपाल, राप्रपा, राष्ट्रिय जनमोर्चा र नेपाल परिवार दलले सातै प्रदेशमा सहभागी हुने भन्दै दल दर्ता गरेका छन् ।

यसैगरी, लोसपाले प्रदेश २ र सुदूरपश्चिम प्रदेश, नेमकिपाले बाग्मती र ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले प्रदेश २ मा मात्र सहभागी हुने गरी दल दर्ता गराएका हुन् । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले नौ दलले सबै प्रदेशमा र तीन दलले कुनै निश्चित प्रदेश विशेषमा मात्र सहभागी हुने गरेर दल दर्ता गराएको जानकारी दिएका हुन् । आयोगले राष्ट्रिय सभा निर्वाचनमा ८ मतदान स्थलमा १४ मतदान केन्द्र रहने र ती मतदान केन्द्र र स्थलहरूमा २ हजार २५ जना मतदाताले मतदान गर्ने जनाएको छ ।

राष्ट्रिय सभातर्फ २० फागुनमा १९ पद रिक्त हुँदै छ । आयोगका अनुसार एमालेका आठ, एकीकृत समाजवादीका चार, माओवादी केन्द्रका चार र कांग्रेसका तीन सदस्यको पदावधि सकिन लागेको हो ।

राष्ट्रपतिबाट मनोनीत राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीको कार्यकाल पनि सोही मितिमा पूरा हुँदै छ । ५९ सदस्यीय राष्ट्रिय सभाका एक तिहाइ सदस्य प्रत्येक दुई वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ ।

पहिलोपटक २०७४ सालमा निर्वाचित सदस्यहरूको कार्यकाल गोलाप्रथाद्वारा निर्धारण गरिएको थियो । राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि समाप्त हुनुभन्दा ३५ दिनअघि नै निर्वाचन सम्पन्न गर्नुपर्ने कानुनी व्यवस्था छ । संविधानमा राष्ट्रिय सभाको कुल कार्यकाल ६ वर्ष हुने उल्लेख छ । जसअनुसार अब निर्वाचित हुनेहरू दुई वर्षसम्म पदमा रहनेछन् ।

आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश सभा सदस्यहरू ५ सय ३२ जना तथा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवं नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरू १४ सय ९३ गरी जम्मा २ हजार २५ जना मतदाता कायम भएको जनाएको छ । निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र गाउँपालिका तथा नगरपालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ ।

आयोगले मतदानका लागि प्रदेश १ मा दुईवटा मतदान स्थल/केन्द्र र अन्य ६ वटा प्रदेशमा एक/एक वटा मतदानस्थलभित्र दुई/दुईवटा मतदानकेन्द्र रहनेगरी ८ वटा मतदानस्थलमा १४ वटा मतदानकेन्द्रहरू यसअघि नै तोकिसकेको छ ।

जसअनुसार प्रदेश १ मा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवं नगरपालिका प्रमुख तथा उपप्रमुखका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर र प्रदेशसभा सदस्यहरूका लागि बाली संरक्षण प्रयोगशाला, विराटनगरमा मतदानस्थल तोकिएको छ । यसैगरी प्रदेश २ का लागि महेन्द्रनारायण निधी भवन जनकपुर, बाग्मती प्रदेशका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, पोखरा, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्र, दाङ, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन, धनगढीमा मतदानस्थल रहनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस