भदौ ३०, हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटसहित दुई गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको छ । विद्युत् सेवा अवरुद्ध भएपछि सिमकोट र खार्पुनाथ दुवै गाउँपालिका अन्धकारमय बनेका छन् । नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्द्रले जारी गरेको सूचनाअनुसार पावर हाउसमा सञ्चालनमा रहेको युनिट–९ को गभर्नरमा समस्या देखिएपछि विद्युत् आपूर्ति बन्द भएको हो ।

विद्युत् सेवा अवरुद्ध हुँदा हुम्लाका सरकारी तथा गैरसरकारी कार्यालय, स्वास्थ्य संस्था, बैंक तथा वित्तीय संस्था, सञ्चारमाबध्यम, व्यवसाय तथा सर्वसाधारणको दैनिक जनजीवन प्रभावित भएको छ ।
यस केन्द्रबाट विद्युत् सेवा लिइरहेका विभिन्न गाउँ तथा बस्तीका उपभोक्ता प्रत्यक्ष प्रभावित हुने भएका छन् । विद्युत् सेवा बन्द हुँदा सिमकोट र खार्पुनाथका करिब दुई हजार ५ सय उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन् ।
लामो समयसम्म विद्युत् नहुँदा मोबाइल चार्ज गर्नदेखि इन्टरनेट तथा विद्युतीय उपकरण सञ्चालनमा समेत समस्या भएको स्थानीय कमल भण्डारीले बताए । दुर्गम हिमाली जिल्ला हुम्लामा नियमित विद्युत् आपूर्तिको भरपर्दो वैकल्पिक व्यवस्था नहुँदा पावर हाउसमा सामान्य समस्या आउँदासमेत ठूलो क्षेत्र प्रभावित हुने गरेको स्थानीय भण्डारीको भनाई छ । तत्काल विद्युत् आपूर्ति सुचारु गर्न वैकल्पिक व्यवस्था गर्नुपर्ने स्थानीयको माग छ ।
आयोजनाको मुख्य नियन्त्रण प्रणालीमा खराबी आएपछि यस वितरण केन्द्रबाट आपूर्ति हुँदै आएको सम्पूर्ण विद्युत् सेवा बन्द गरिएको वितरण केन्द्रका प्रमुख जितेन्द्र शाहले बताए ।
प्रमुख शाहले भने,‘पावर हाउसमा सञ्चालनमा रहेको युनिट–९ को गभर्नरले काम नगरेपछि छिमेकी राष्ट्र चीनबाट यो सामान माग गरिएको छ । यो सामान चीनबाट हुम्ला पुग्न करिब दशदेखि पन्ध्र दिन लाग्छ । सामान यहाँ पुगेपछि दशदेखि पन्ध्र दिनसम्म बनाउनै लाग्छ । त्यसपछि करिब एक महिनापछि विद्युत सेवा पुन सञ्चालनमा आउँछ ।’