असोज ११, काठमाडौँ । सरकारले अघि सारेको लक्ष्यअनुसार नै कोरोना भाइरस विरुद्धको खोप लक्षित वर्गमा पुग्ने देखिएको छ । सरकारले असोजमसान्तसम्म लक्षित वर्गको एक तिहाइ जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य राखेको थियो । सोही अनुसार अहिलेसम्म ३० प्रतिशतलाई पहिलो मात्रा र २८ प्रतिशतलाई पूर्णमात्राको खोप लगाइसकिएको छ ।
स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले लक्ष्यअनुसार असोज मसान्तसम्म लक्षित वर्गलाई खोप लगाइसक्ने जानकारी दिनुभयो । “हामीले असोज मसान्तसम्म लक्षित वर्गको ३३ प्रतिशत जनसङ्ख्यालाई खोप लगाउने भनेका थियौँ”, उहाँले भन्नुभयो, “सोहीअनुसार हामीले दैनिक खोप अभियान सञ्चालन गरिरहेका छाँै । असोज मसान्तसम्म ३३ प्रतिशतलाई खोप पु¥याउँछौँ ।”प्रधानमन्त्री शेरबहादुर देउवाले असार २९ मा आफू नियुक्त भए लगत्तै कोरोना भाइरस विरुद्धको खोपलाई सरकारले पहिलो प्राथमिकतामा राख्ने र आसोज मसान्तसम्ममा ३३ प्रतिशतमा खोप पुर्याइने घोषणा गर्नुभएको थियो । सोही अनुरुप सरकारले अनुदान प्राप्त हुने देशबाट अनुदान तथा चीन र भारतबाट खरिद गरेर पनि खोप ल्याउने नीति लिएको हो ।
सरकारले १८ वर्षभन्दामाथिका ७१।६ प्रतिशत अर्थात् कूल दुई करोड १७ लाख ५६ हजार ७६३ जनालाई खोप लगाउने लक्ष्य राखेको छ । सरकारले आगामी असोजसम्म लक्षित वर्गको ३३ प्रतिशत, पुस मसान्तसम्म दुई तिहाइ र चैत मसान्तसम्म लक्षित सबैलाई खोप लगाउनसक्ने जनाएको छ । पहिलो चरणको अर्थात् असोज मसान्तसम्मको लक्ष्य पूरा हुन लागेकाले खोपको आगामी अरु लक्ष्य पनि पूरा हुने देखिएको हो ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कम्तीमा ६० प्रतिशत जनसङ्ख्यालाई खोप लगाएमा रोगको नियन्त्रण गर्न सकिने जनाइएको छ । खोप अभियानकै क्रममा मन्त्रालयले अहिले पनि भेरोसेलको पहिलो मात्रा खोप अभियान सञ्चालन भइरहेको छ । अहिले दैनिक एक लाखभन्दा बढी जनाले खोप लगाइरहेका छन् ।
अहिलेसम्म पूर्वरुकुम, मनाङ र मुस्ताङका सबै लक्षित समुदायले पूर्णमात्राको खोप लगाइसकेका छन् । उहाँका अनुसार कूल जनसङ्ख्याको २२ प्रतिशतले पहिलो र २० प्रतिशतले पूर्णमात्राको खोप लगाइसकेका छन् । अहिले ६६ लाख नौ हजार २३३ ले पहिलो र ६० लाख ३६ हजार ४०१ जनाले पूर्ण मात्रा गरी कूल एक करोड २६ लाख ४५ हजार ६३४ जनाले खोप लगाइसकेका छन् ।खोप अभियानअन्तर्गत सबैले खोप लगाउन थालेपछि सङ्क्रमण पनि घट्दै गइरहेको छ । आइतबार १३ हजार ७३६ जनामा कोभिड–१९ परीक्षण गर्दा ८३४ जनामा सङ्क्रमण देखिएको छ । अहिले परीक्षण गरिएकामध्ये करिब १२ देखि १५ प्रतिशतमा सङ्क्रमण देखिएको छ ।
अहिलेसम्म नेपालमा सङ्क्रमणको दर १९ प्रतिशत रहेको छ । नेपालमा पहिलो पटक सङ्क्रमण देखिएको एक वर्षपछि नेपालमा खोप लगाइएको थियो । नेपालमा पहिलो पटक २०७६ माघ ९ गते सङ्क्रमण देखिएको थियो । सरकारले गत माघ १४ गतेदेखि खोप लगाउन सुरु गरेयता सात महिनामा यही भदौ १६ गते नै एक करोड ९२ हजार १६४ सर्वसाधारणले खोप लगाएका थिए ।