चैत्र १४, काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचनमा नेपाल प्रेस युनियनको नेतृत्वमा ११ संगठन बीच गठबन्धन गर्ने सैद्धान्तिक सहमति भएको छ । शुक्रबार ११ संगठनबीच भएको बैठकबाट गठनबन्धन गर्ने निर्णय भएको हो ।
महासंघको चैत २५ गते हुने निर्वाचनमा सहकार्य गरी साझा र समावेशी नेतृत्व चयन गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा निरन्तर खबरदारी गर्ने प्रतिबद्धता समेत ती संगठनहरुले जनाएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण संकटमा परेका साना तथा ठूला मिडिया उद्योगको पुनरुत्थानका कार्य अघि बढाउने प्रतिबद्धता समेत ११ संगठनको साझा विज्ञप्तिमा जनाइएको छ । गठबन्धनमा प्रेस युनियनका अतिरिक्त प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल, प्रगतिशील पत्रकार संघ नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, जन पत्रकार संगठन नेपाल, क्रान्तिकारी पत्रकार संगठन नेपाल, मिडिया नेपाल,प्रेस सेन्टर नेपाल, देशभक्त पत्रकार संघ र लोकतान्त्रिक छापा माध्याम राष्ट्रिय समाज रहेका छन् ।
