वैशाख १८, काठमाडौं । काठमाडौँ महानगर- १९ कंकेश्वरीमा १५ फिट लामो सिंहशैय्यासन प्रस्तर वुद्ध मूर्ति स्थापना गरिएको छ । २५७० औँ वुद्ध जयन्तीको अवसर पारेर आज वडाध्यक्ष एवं महानगरपालिकाको पूर्वाधार समितिका संयोजक राजेशकुमार श्रेष्ठले मूर्ति सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गरिएको मूर्तिलाई करिब ४ फिट अग्लो आसनमा राखिएको छ । यसको निर्माण लागत करिब २८ लाख रुपियाँ रहेको वडाध्यक्ष एवं महानगरपालिकाको पूर्वाधार समितिका संयोजक राजेशकुमार श्रेष्ठले जानकारी दिए ।
सो अवसरमा उनले भने- ‘यस स्थानलाई हामीले वुद्ध पार्क नामाकरण गरेका छौँ । पार्कलाई बालबालिका, युवा र ज्येष्ठ नागरिकमैत्री बनाउँछौँ । त्यसपछि यसको व्यवस्थापन गर्ने दायित्व स्थानीयलाई दिन्छौँ । वडाले अभिभावक भएर पार्कको संरक्षण गर्नेछ । निर्माण गर्नुभन्दा संरक्षण र व्यवस्थापन गर्न कठिन छ । त्यसैले पार्क उपयोगमा सबैले अपनत्व र दायित्व लिन आवश्यक छ ।’
मूर्ति सार्वजनिक गर्नुअघि स्थानीयहरुले वडाभित्रका विभिन्न स्थानमा अस्थिधातु यात्रा गरेका थिए । त्यसपछि नमूना विहारमा आएर वुद्धको पूजाआराधना गरिएको थियो ।