फाल्गुन १५, काटमाठौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रतिनिधिसभाको कुनै पनि गतिविधिमा पार्टीका सांसदहरुले पार्टीको ह्विप उल्लंघन गरे विधानअनुसार कारबाही हुने चेतावनी दिनुभएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै भट्टराईले संसदको अधिवेशन (फागुन २३) गते अघि नै आफूहरुको संसदीय दलको बैठक बस्ने जानकारी दिँदै उहाँले उक्त बैठकमा सहभागी हुनको लागि दाहाल–नेपाललाई पनि आग्रह गर्नुभयो ।
तत्काल नआएपनि केही नगर्ने उल्लेख गर्दै उहाँले प्रधानमन्त्री ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भए आफूहरुले डटेर सामना गर्ने बताउनुभयो । संसदमा अगाडी बढ्न संसदीय दलले पार्टीका सांसदहरुलाई ह्वीप जारी गर्ने भएकाले पार्टीको ह्वीप नमानेमा दलले उक्त सांसदलाई कानुन बमोजिम कारवाही गर्ने समेत स्पष्ट पार्नुभयो । उहाँले अहिले पनि प्रधानमन्त्री ओलीको पक्षमा बहुमत सांसदहरु रहेको दावी गर्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा अहिले पनि एक सयभन्दा बढी सांसदहरू रहेको दाबी गर्दै उहाँले संसदमा आवश्यक परे त्यो देखाउन आफूहरु तयार रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री ओली अल्पमतमा हुनुहुन्छ भनेर बाहिर हल्ला चलाइएको छ, तर म दाबीका साथ भन्छु–उहाँ बहुमतमा हुनुहुन्छ । आवश्यक पर्दा त्यो हामी देखाउन तयार छौं । उहाँको पक्षमा संख्याको कुरा गर्नुहुन्छ भनेपनि एक सयभन्दा बढी सांसद छन् ।’ संसद प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आए आफूहरुले त्यहीँ प्रतिवाद गर्ने उल्लेख गर्दै सचेतक भट्टराईले आफूहरुले प्रचण्ड र माधव कुमार नेपाललाई अहिलेसम्म कारबाही नगरेको बताउनुभयो । तर, चितवनको सभास्थल छोडेर काठमाडौं आएका दाहाल–नेपाल हस्याङ्फस्याङ गर्दै अर्को पार्टीका सभापतिलाई प्रधानमन्त्री बन्न प्रस्ताव गर्दै गएको भन्दै आलोचना गर्दै सचेतक भट्टराईले प्रचण्ड र माधव नेपाललाई पनि अहिले पनि सच्चिने ठाउँ रहेको बताउनुभयो ।