चैत्र १३, मोरङ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद बिस्तार गर्नुभएको छ । मुख्यमन्त्री राईले शुक्रबार मन्त्रिपरिषद्मा मन्त्रीहरुको जिम्मेवारी हेरफेर तथा विस्तार गर्नुभएको हो ।

विस्तारसँगै प्रदेश १ को मन्त्रिपरिषद्नौं सदस्यीय बनेको छ । केही मन्त्रीहरुको जिम्मेवारी हेरफेर र केही नयाँ विस्तार गर्दै मुख्यमन्त्री राईले ताप्लेजुङ्गका टंक आङ्बुहाङ्ग लिम्बुलाई आर्थिक मामिला तथा योजना मन्त्री, इलामका रामबहादुर मगरलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, खोटाङकी उषाकला राईलाई सामाजिक विकास मन्त्री, ओखलढुंगाका अम्बिरबाबु गुरुङलाई भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त गर्नुभयो । यसैगरी मोरङका राजकुमार ओझालाई उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री र उदयपुरकी कला घलेलाई भूमि व्यवस्था कृषि तथा सहकारी राजयमन्त्री नियुक्त गर्नुभएको हो ।
नवनियुक्त मन्त्रीहरुलाई शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा शपथ गराइएको छ । मन्त्रीहरुलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले र राज्यमन्त्रीहरुलाई मुख्यमन्त्री शेरधन राईले शपथ गराउनुभयो । नवनियुक्त मन्त्रीहरुले शुक्रबार नै आ–आफ्नो मन्त्रालयमा पदभार ग्रहण गर्नुभएको छ ।